मौसममा आंशिक बदली, मेघ गर्जनसहित हल्का वर्षा

सोमबार, ०९ बैशाख २०७६, १५ : ५७
मौसममा आंशिक बदली, मेघ गर्जनसहित हल्का वर्षा

काठमाडौँ । देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षाको सम्भावना देखिएको छ ।

भारतको बिहार र छत्तिसगढको मौसममा बनेको न्यून चापीय रेखाको प्रभावस्वरुप नेपालका पूर्व र मध्य क्षेत्रको मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय क्षेत्र विद्यमान रहेकाले आइतबारदेखि बदली भएको मुलुकभरको मौसम बुधबारसम्म बदली रहने महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । 

पूर्व र मध्य क्षेत्रको तुलनामा पश्चिमको मौसममा कम बदली देखिएको छ । साथै पोखरा आसपास क्षेत्रमा स्थानीय मौसम प्रणाली उत्पन्न भई मेघगर्जनसहित हावाहुरीको सम्भावना  देखिएको उहाँले बताउनुभयो । नेपालको मौसममा मार्च, अप्रिल र मे महिनाभर प्रि–मनसुनको अवधि रहन्छ । 

मङ्गलबार र बुधबार पनि पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको महाशाखाले प्रक्षेपण गरेको छ । पछिल्लो २४ घण्टाको मौसमी विवरणअनुसार काठमाडौँको अधिकतम् तापक्रम २७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १२ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । (रासस) 

प्रतिक्रिया दिनुहोस