नारायणीबाट नदीजन्य पदार्थको दोहन

शुक्रबार, २९ चैत्र २०७५, १० : ४७
नारायणीबाट नदीजन्य पदार्थको दोहन

नवलपरासी । पश्चिम नवलपरासीको नारायणी नदीबाट धमाधम नदीजन्य पदार्थको दोहन बढेको पाइएको छ । नारायणी नदीबाट अवैधानिकरूपमा नदीजन्य सामग्री उत्खनन गरेर भारत निर्यात भइरहँदासमेत सम्बन्धित सरोकारवा निकाय मौन रहेको स्थानीयवासीको भनाइ छ । 

नदीबाट निकालिएका नदीजन्य पदार्थ खुला सिमानाका कारण धमाधम भारत निकासी भइरहेको छ । नदीबाट नदीजन्य पदार्थ झिक्न नमिल्ने भए पनि तस्करले दिनदहाडै नदीबाट दैनिक लाखौँको ढुङ्गा, गिट्टी, ठाउँठाउँमा घाटगड्डी गरिरहेको स्थानीय सुरज केवटको भनाइ छ ।

तस्करले डुङ्गा प्रयोग गरेर नारायणी नदीबाट ढुङ्गा, गिट्टी, बालुवा झिकी ट्र्याक्टरमा लोड गरी पक्लिहवा, कुडिया, नर्सहीलगायतका स्थानमा घाटगड्डी गरेर राख्ने गरेका छन् । नारायणी नदीबाट उत्खनन गरिएको नदीजन्य समाग्री विशेषगरी नारारायणी नदी आसपास क्षेत्रसहित ठाडीघाट रामनगर, नर्सही, कुडिया, पक्लीहवा, गुठीप्रसौनीमा घाटगड्डी गर्ने गरेको पाइन्छ । 

नदीबाट नदीजन्य सामग्री चोरी बढ्दै गएकाले आवश्यक ठेक्का प्रक्रियाका लागि प्रारम्भिक वातावरणीय परीक्षणको काम अघि बढाइएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे बताउनुहुन्छ । घाटगड्डी गरिएको नदीजन्य सामग्री आफ्नो अनकूलताअनुसार तस्करले नेपाली बजार साथै नजिकको भारतीय बजारसम्म पनि बिक्री वितरण गर्ने गरेका छन् । 

तस्करले सोझै नदीबाट उत्खनन गरेर उक्त स्थानमा घाटगड्डी गरेर राखेको पाइए पनि सम्बन्धित निकायले बेवास्ता गर्दा नियन्त्रणमा समस्या भएको हो । नारायणी नदीमा नदीजन्य पदार्थको चोरीसम्बन्धी समस्या रहे पनि स्थानीय प्रशासनले यसको नियन्त्रण र रोकथामको काम गर्दै आइरहेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने बताउनुहुन्छ । 
अहिले सबै खोला नाकाको सबै अधिकार जिल्ला समन्वय समितिमा निहित रहेकाले अब जोखिममा रहेको गण्डक बाँधअन्तर्गत ठोकर नं १२, १३ र १४ सुरक्षित गर्नु अहिलेको आश्यकता रहेको लामिछानेको भनाइ छ । तस्करले नदीबाट उत्खनन गरेको नदीजन्य सामग्रीलाई नेपालमा मात्र होइन, छिमेकी भारतको बहुवार, बसैयालगायतका स्थानमा घाटगड्डी गरेर राखेको पाइन्छ । जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्करप्रसाद रायले प्रारम्भिक वातावरणीय परीक्षणपश्चात स्थानीय तहले ठेक्का लगाउने बताउनुहुन्छ । 

नेपालमा भन्दा भारतमा दोब्बर रकममा बिक्री हुने भएकाले दैनिक लाखौँको नदीजन्य पदार्थ भारत जाने गरेको छ । सबैभन्दा बढी पक्लिहवाको ठाँडीघाटबाट तस्करी हुने गरेको छ । पश्चिम नवलपरासी जिल्ला समन्वय समितिले अनुगमनका क्रममा सुस्ता क्षेत्रमा अवैधरूपमा नदीजन्य पदार्थ सङ्कलन गरेर राखेको पाइएकाले अनुगमनलाई तीव्रता दिएको बताएको छ । (रासस) 

प्रतिक्रिया दिनुहोस