एकसिङ्गे गैँडा मर्ने क्रम बढेपछि घाँसेमैदान व्यवस्थापनमा जोड

रासस

आइतबार, १७ चैत्र २०७५, १३ : ३६
एकसिङ्गे गैँडा मर्ने क्रम बढेपछि घाँसेमैदान व्यवस्थापनमा जोड

चितवन l प्राकृतिक कारणले दुर्लभ एकसिङ्गे गैँडा मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसेमैदान र पोखरीको व्यवस्थापनमा जोड दिएको छ । दुई वर्षअघि आएको बाढीका कारण घाँसे मैदान र पोखरी पुरिएको थियो ।

बाढीले पूर्वीक्षेत्रका गैँडालाई बगाएर पश्चिम क्षेत्रमा धेरै पु¥याएको थियो । कतिपय गैँडा बगेर भारतसमेत पुगेका थिए । चालू आर्थिक वर्षको हालसम्म प्राकृतिक कारणले निकुञ्जमा मात्रै ३९ वटा गैँडा मरिसकेका छन् । चितवन राष्ट्रिय वन क्षेत्रअन्तर्गत दुई वटा थप गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बाढीका कारण घाँसे मैदान र पोखरीहरु पुरिएको बताउनुभयो । 

यससँगै पश्चिम क्षेत्रमा बढी गैँडा भएकाले सो क्षेत्रमा थप घाँसे मैदान व्यवस्थापन र पोखरी निर्माण एवं सरसफाइको काम थालिएको उहाँले बताउनुभयो । ढकालका अनुसार नियमितका अतिरिक्त २०० हेक्टर घाँसे मैदान थप व्यवस्थापन गरिँदैछ । निकुञ्जको पश्चिमी क्षेत्रमा रहेको टेम्पल टाइगर र खोरिया मुहानमा एक÷एक सय हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गर्ने काम शुरु भएको छ । 

निकुञ्जले नियमित रुपमा हरेक वर्ष ८० हेक्टर हाराहारी क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गर्ने गर्दछ । करीब रु २५ लाख खर्च गरेर यस वर्ष थप २०० हेक्टर घाँसे मैदान व्यवस्थापन गर्न लागेको प्रमुख संरक्षण अधिकृत ढकालले बताउनुभयो । 

निकुञ्जमा दश हजार हेक्टर घाँसे मैदान भए पनि बजेटको अभावमा थोरै क्षेत्रमात्र व्यवस्थापन गरिँदै आएको छ । ठूला खरखडाइ र घाँस काट्ने, झाडीहरु सफा गरेर घाँसे मैदान व्यवस्थापन गरिन्छ । यसैगरी ६० वटा पोखरी व्यवस्थापनको काम भइरहेको प्रमुख संरक्षण अधिकृत ढकालले जानकारी दिनुभयो । रु एक करोड २० लाख खर्च गरेर पुराना पोखरीभित्रका फोहरहरु निकाल्ने, चाक्लो बनाउने र मर्मत सम्भार गर्ने काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो । 

यसका अतिरिक्त आगो निभाउन र वन्यजन्तुलाई पानी खुवाउन सहज पार्नका लागि थप १० वटा पोखरीे व्यवस्थापनका लागि गृहकार्य भइरहेको प्रमुख संरक्षण अधिकृत ढकालले बताउनुभयो । निकुञ्जभित्र ठूलासाना गरी ८० वटा पुराना पोखरीहरु छन् । 

उहाँले पश्चिमी क्षेत्रमा गैँडा बढी भएको तर घाँस र पानीको अभाव हुन सक्ने देखिएकाले पोखरी र घाँसे मैदान व्यवस्थापनमा जोड दिएको बताउनुभयो । घाँस र पानीका लागि जाँदा एकै ठाउँमा धेरै गैँडा जुधेर र हानेर मर्ने क्रम बढी भएको प्रमुख संरक्षण अधिकृत ढकालको भनाई छ । 

प्रतिक्रिया दिनुहोस