प्राविधिक तालिमपछि रोजगारीको ग्यारेण्टी गर्ने उद्देश्यसहित एचआरडी चितवन सञ्चालनमा

आइतबार, १० चैत्र २०७५, १४ : ३०
प्राविधिक तालिमपछि रोजगारीको ग्यारेण्टी गर्ने उद्देश्यसहित एचआरडी चितवन सञ्चालनमा

भरतपुर । चितवनको भरतपुरमा प्राविधिक तालिमपछि रोजगारीको ग्यारेण्टी गर्ने उद्देश्यसहित एचआरडी चितवन सञ्चालनमा आएको छ । भरतपुर १० को स्याउलीबजार रोडमा संचालनमा आएको सेन्टरले प्राविधिक तालिम लिन चाहानेहरुका लागि स्वरोजगार सहितको कार्यक्रम अघि बढाएको छ ।

चितवन ह्युमन रिसोर्सेज डेभलपमेन्ट सेन्टरका अध्यक्ष मनोज विष्टले समाजको आवश्यकता अनुसार समाजप्रति जिम्मेवार प्राविधिक जनशक्ति स्थापनाको लागि सेन्टर स्थापना भएको बताउनुभयो । सेन्टरको परिसरमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाको उद्देश्यबारे अध्यक्ष विष्टले जानकारी गराउनुभएको हो । समाजमा कामलाई सम्मान गर्दै संस्कृतिको विकास गरी कामले नै प्रमाणपत्र जन्माउने गरी केन्द्रको स्थापना गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्राविधिक तालिमपछि संस्थाभित्रनै जागिरको व्यवस्था हुने नमुनाको संस्था यसबाहेक नेपालमा अन्य छैन । आर्थिक विपन्न र सीमान्तकृत समुदायलाई प्राविधिक सिप र ज्ञानमा परिचालन गर्ने नीति हामीले लिएका छौं ।’ उहाँले वैदेशिक रोजगारीमा जान चाहने जोकोही यस तालिम केन्द्रबाट सिप सिकेर जान सक्ने पनि जानकारी दिनुभयो ।


त्यसैगरी संस्थाका कार्यकारी निर्देशक बासु रिमालले आफ्नो संस्थाले यहाँ प्राविधिक शिक्षा लिएका विद्यार्थीहरुलाई आंशिक र पूर्ण रोजगारीको ग्यारेन्टी गरेको बताउनुभयो । संस्थामा थोरै लगानीमा युवाहरु स्वरोजगार बन्ने गरेको उहाँले प्रसस्त उदाहरणहरु दिनुभयो । तालिमसँग काम पनि दिएर विद्यार्थीहरुले एचआरडीसीमा पढ्दै कमाउनसक्ने जानकारी दिनुभयो ।

२०७२ सालमा दर्ता भएर भौतिक पुर्न्र्निर्माणमा जुटेको संस्थाले यसै वर्ष पुस १ गतेबाट कक्षाहरु सञ्चालन गर्न थालेको हो । एक करोड २५ लाख रुपैयाँको लगानीमा संचालन भएको चितवन हुमन रिसोर्सेज डेभलपमेन्ट प्रालि (एचआरडी)मा एटो मेकानिक्स, जेनरल कुक, जुनियर पलम्बर, बिल्डिङ इलेक्ट्रिसियन, मेसन, वेल्डरलगायतका विषयमा प्राविधिक शिक्षा दिइन्छ । सेन्टरपरिसरमा नै अत्याधुनिक कन्सफरेन्स हलसहितको ओदान रेष्टुरेन्ट, ज्याकवास सेन्टर र पर्याप्त पार्किङ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस