आमाछोरी महीना दिनदेखि बेखबर

आइतबार, १० चैत्र २०७५, १४ : १७
आमाछोरी महीना दिनदेखि बेखबर

पर्वत । पर्वतको फलेवास नगरपालिका–२ थापाठानाकी एक महिला महीना दिनदेखि चार वर्षीया छोरीसहित बेपत्ता हुनुभएको छ । गत फागुन २ गते काठमाडौँबाट चार वर्षीया छोरी सुप्रियालाई लिएर पर्वतका लागि हिँडेकी २४ वर्षीया शर्मिला थापा ३६ दिनसम्म बेखबर बन्नुभएको हो । 

उहाँ काठमाडौँबाट घरमा जान भनी हिँड्नु भएकामा हालसम्म परिवार तथा माइती पक्षको सम्पर्कमा आउनुभएको छैन । फलेवास नगरपालिका–२ थापाठानास्थित खनार माइतीघर भई नौ वर्षअघि उहाँको सोही स्थानका प्रकाश थापासँग विवाह भएको थियो । 

पर्वत प्रहरीलगायत घर र माइती पक्षले उहाँको खोजी कार्य गरे पनि आजसम्म कुनै पत्तो लाग्न सकेको छैन । शर्मिलाका माइती पक्षले भने घरपरिवारले बेपत्ता बनाएको आरोप लगाएका छन् । ‘‘घरमा बस्न नसकेको भन्दै १८ महीना माइत बसेकी र घरका सदस्य लिन आएपछि गत माघमा घरमा गएकी हो’’ शर्मिलाका बाबु मतिलाल कार्कीले छोरी शर्मिला र नातिनी सुप्रियालाई परिवारकै सदस्यले बेपत्ता बनाएको आरोप लगाउनुभयो । 

शर्मिलालाई थापाठानाकै एक निमावि विद्यालयमा कक्षा ७ मा पढ्दै गर्दा १६ वर्षकै उमेरमा प्रकाश थापाले विद्यालयबाटै भगाएर विवाह गर्नुभएको थियो । यता श्रीमान्ले भने श्रीमती माइत र घरमा जान्छु भनेपछि आफूले काठमाडौँबाट पर्वतको बसमा चढाएको तर कहाँ गइन् भन्नेबारेमा आफू पनि अन्योल रहेको बताउनुभयो । 

शर्मिलाका बाबु मोतिलाल कार्कीले छोरी फागुन २ गते घरमा आउने भनेर बसमा चढेको थाहा नभएको तर फागुन ५ गते कार्कीनेटा प्रहरी चौकीका सुरक्षाकर्मी घरमा नै पुगेर छोरी हराएको जानकारी दिएपछि मात्रै आफूहरुलाई थाहा भएको बताउनुभयो । 

परिवारले खोजी कार्यमा तदारुकता नदेखाएपछि आफूले फागुन १३ गते पर्वत प्रहरीमा खोजीकार्यमा सहयोग गरिदिन निवेदन दिएको बाबु मोतिलालले बताउनुभयो । पहिल्यैदेखि शारीरिक र मानसिक यातना दिँदै आएकाले घरपरिवारले नै छोरी र नातिनीलाई बेपत्ता बनाएको आरोप उहाँको छ । 

यता जिल्ला प्रहरी कार्यालयले भने सम्बन्धित ठाउँमा खोजीकार्य भइरहेको र प्रविधिको प्रयोग समेत गरेर अनुसन्धान गरिरहेको जानकारी दिएको छ । काठमाडाँैबाट आउँदै गर्दा हराएको हुँदा अन्य क्षेत्रका प्रहरी कार्यालयसँग समेत समन्वय गरेर खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस