आफ्नै जीउमा आगो लगाएका एक पुरुषको उपचारका क्रममा मृत्यु

आइतबार, १० चैत्र २०७५, ११ : २१
आफ्नै जीउमा आगो लगाएका एक पुरुषको उपचारका क्रममा मृत्यु

महोत्तरी । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–५ कञ्चनपुरमा आफ्नै जीउमा आगो लगाएका एक पुरुषको गए राति उपचारको क्रममा मृत्यु भएको छ । 

मृत्यु हुनेमा रामगोपालपुर–५ कञ्चनपुरका ६० वर्षीय सूर्यदेव मुखिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । 

शनिबार दिउँसो घरमा कोही नभएको बेला शरीरभरि कपडा बेरी मट्टितेल छर्केर आफैँले आगो लगाएका मुखियाको अवस्था गम्भीर भएपछि परिवारजनले उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगेका थिए । उनको गए राति करीब ८ बजे उपचारकै क्रममा मृत्यु भएको थियो । 

मुखिया के–कति कारणले आफँैले जीउमा आगो लगाए भन्नेबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । मृतकको शव परीक्षणपश्चात परिवारजनलाई बुझाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस