- कुन्दन अर्याल
चैत ३ गते । धेरै वर्षअघि यही दिन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै राजनीतिक स्वतन्त्रताका लागि भइरहेको देशव्यापी संयुक्त जनआन्दोलनमा देशका मूर्धन्य लेखक–साहित्यकारले ऐक्यबद्धता जनाएका थिए । पञ्चायती निरंकुशताविरुद्ध बौद्धिक असहमतिको त्यो प्रष्फूटन थियो । २९ वर्ष लागेछ, यसबीच सरस्वती सदन जहाँको तहीँ भए पनि, घन्टाघरले एक टक हेरिरहेको भए पनि, रानीपोखरी सुकिसकेको छ । अनि त्यस ऐतिहासिक घटनाको सार्वजनिक स्मृति धुमिल हुँदै गएको छ ।
यति लामो अवधिपछि म पनि जनआन्दोलनको आगोमा घिउ थप्ने त्यस घटनाको अति निकटको साक्षी थिएँ भन्दा कथा सुनाएजस्तो लाग्दो रहेछ । बितेका २८ वर्षमा मैले ०४६ साल चैत ३ गते राजधानीको त्रिचन्द्र कलेज, सरस्वती सदनको परिसरबाट देशका नामी कवि, लेखक र साहित्यकारले स्वतन्त्रताको माग गर्दै गिरफ्तारी दिएको घटनाका सम्बन्धमा लेखेको थिइनँ । यस वर्ष मलाई त्यो दिनका बारेमा स्मृतिपटमा विचरण गर्दै केही कोर्न मन लाग्यो । चैत ३ को कलमवीर र वीरांगनाको स्वतन्त्रताप्रतिको लगाव र मायाको त्यो साहसिक अभिव्यक्तिका बारेमा म कुनै सन्दर्भ सामग्रीको प्रयोग गरेर लेखिरहेको छैन । बरु आफू पनि समाजका ती सूक्ष्म अध्येताको छाया बनेर हिरासतमा पुगेसम्मको घटनाक्रम केही हतारमै भए पनि सम्झिएसम्म टिप्दै छु ।
मैले छायाजस्तो किन भनेको भने, त्यसवेला कलेजको विद्यार्थी म केही निकटतम साथीसँग खासमा ठूला–ठूला साहित्यकारको सानिध्यताका लागि त्यस धर्नामा गएको थिएँ । हामी केही साथी, युवा सहचर हातेमालो नामको आवधिक पत्रिका निकाल्थ्यौँ । हामी विज्ञान–प्रविधिका विविध पक्ष, देशप्रेम, नैतिकता, व्यक्तित्व निर्माण र राजनीतिक स्वतन्त्रताजस्ता विषयसहित साहित्य पनि पस्किन्थ्यौँ । पत्रिकाको पहिलो सामग्री एउटा कविता हुन्थ्यो । एउटा कथा हामी हरेक अंकमा राख्थ्यौँ । तर, हामी आणविक संरचनादेखि एचआइभी÷एड्ससम्मका विषयसँग सम्बन्धित सामग्री प्रकाशित गर्दथ्यौँ । हामीले नेल्सन मन्डेलाको ७०औँ जन्म दिनमा विशेषांक निकालेका थियौँ । ०४६ फागुन ७ गते जनआन्दोलन सुरु भएपछिको हाम्रो म्यागेजिन एकदमै राजनीतिक हुन पुगेको थियो, गणेशमान सिंहको रेखाचित्र मुखपृष्ठमा छापिएको थियो ।
त्यसरी पढाइ–लेखाइसँगसँगै स्वयंसेवी रूपमा आवधिक पत्रिका चलाउने क्रममा हामी सबैजसो वरिष्ठ लेखक–साहित्यकारकहाँ जाने गर्दथ्यौँ । हामीले अठोट नै गरेका थियौँ, एक न एकचोटि मोहन कोइराला, वासु शशि र युद्धप्रसाद मिश्रका कविता छापेरै छाड्नेछौँ । तारेखमाथि तारेख खेप्दै अन्ततः हामीले त्यस्तो सफलता पनि पाउँथ्यौँ । खुब धाउन लगाउने ठूला–ठूला लेखकका कृति छाप्ने हाम्रो रहर थियो । त्यो लगावले अहिलेसम्म सम्झिनलायक सन्तुष्टि पनि प्रदान गरेको छ । स्वर्गीय युद्धप्रसाद मिश्रको गठ्ठाघरस्थित निवासमा उहाँले दिएकै समयमा पटक–पटक जाँदा उहाँ भन्ने गर्नुहुन्थ्यो, राम्रो कविता फुरेकै छैन । एकदिन उहाँले भन्नुभयो– बस, एउटा जोसिलो कविता फुरेको छ । उहाँ वाचन गर्न थाल्नुभयो, म टिप्न थालेँ,
रक्त क्रान्तिको ज्वालामुखीमा आज उठेको यो बलिदान।।। मैले हातेमालोमा छाप्नका लागि एउटा कागजमा टिपेँ । त्यसपछि मैले उहाँका लागि पनि एउटा कपीमा टिपिदिएँ ।
यसरी वरिष्ठ लेखक–साहित्यकारका कृति छाप्न रहर गर्ने हामीलाई चैत ३ गतेका दिन सरस्वती सदनमा उनीहरूकै विरोधसभा छ भन्ने थाहा पाएपछि के चाहिन्थ्यो रु स्वर्गीय पद्मरत्न तुलाधरको कान्तिपुरी प्रेसमै भेला भएर हो किजस्तो लाग्छ, तारक धिताल, रविन सायमी र म पनि मध्याह्नभन्दा केहीपछि त्यहाँ पुग्यौँ, यथासमयमै । त्यतिवेला त्यस्ता कार्यक्रममा यथासमयको अत्यन्त ठूलो महत्व हुन्थ्यो । किनकि कार्यक्रम नै नीमेषभरको हुन्थ्यो, आँट गर्नेहरू पञ्चायती व्यवस्थाविरुद्ध प्रकट हुन्थे, यसो सानो झन्डा हल्लाउँथे वा कालो झन्डा देखाउँथे वा नारा लगाउँथे । प्रहरीले छोपिहाल्थ्यो, लगिहाल्थ्यो । त्यसकै प्रभाव तरंगसरी फैलिन्थ्यो, फलाना–फलानाले पनि पञ्चायतको अन्त्यको माग गर्दै गिरफ्तारी दिनुभयो । त्यस्तो अवस्थामा ढिलो गरी पुग्नेहरू गिरफ्तारीबाट बच्न पनि सक्थे ।
त्यस दिन चैत ३, तारक र म त छुट्टिएनाँं, कार्टुनिस्ट रविन सायमी भने पछि कता लाग्यो । ऊ त्यहाँ भेला भएकामध्ये सबैभन्दा बच्चा नै थियो । म र तारक पनि कुनै लेखकीय परिचयका थिएनौँ । हामीलाई धेरै अग्रजले चिन्दथे, हामी त त्यस्ता दिग्गजमाझ त्यसै दंग थियौँ । मलाई डर पनि लागेको थियो । त्यसवेला दंगा प्रहरी भन्थे, तिनको कुटाइको स्वाद मैले ०४२ सालमै पाइसकेको थिएँ । कार्यक्रम स्थलमा पारिजात साथीभाइको सहयोगमा ह्विलचेयरको सहायताले आउनुभएको थियो । युद्धप्रसाद मिश्रलाई उहाँका सुपुत्र र कवि लिखत पाण्डेले सहारा दिनुभएको थियोजस्तो लाग्छ । हामी एकैछिन त्यो सानो चौरमा बस्यौँ, म विमल निभानजिक बसेको थिएँजस्तो लाग्छ । शरदचन्द्र वस्ती त्यतिवेला गोरखापत्रमा हुँदाहुँदै त्यस्तो कार्यक्रममा सहभागी हुनुभएको थियो, त्यो चर्चाको विषय पनि बनेको थियो । चर्चाको अर्को विषय थियो, स्वर्गीय कमलमणि दीक्षित आफ्नी धर्मपत्नीसहित सहभागी हुनु ।
त्यतिवेला म चिन्दिनथिएँ, पछि थाहा भयो, मसँगै बसेका एकजना डा। राजेश गौतम हुनुहुँदो रहेछ । हामीले मुखमा कालो पट्टी बाँधेका थियौँ, हामी झुरुप्प परेर पलेँटी कसेर बसेका थियौँ । त्यो क्षण संक्षिप्त थियो । प्रहरी धमाधम आउँदै, पक्राउ गर्न थाले । भाग्ने गुन्जायस थिएन । हामी चारैतिरबाट घेरिएका थियौँ । बुढा–वरिष्ठ त आनन्दले गिरफ्तारी नै दिन आएका थिए, म त यसो सकिन्छ भने टाप ठोक्नुपर्छ भन्ने सोच्दै थिएँ । तर, सम्भव थिएन । वरिष्ठ साहित्यकार पारिजात र युद्धप्रसाद मिश्रलाई भ्यानमा लगेजस्तो लाग्छ । अरू सबैजसोलाई ठूला–ठूला दुई ट्रकमा कोचियो । किनभने हामी एउटा ट्रकमा भएभन्दा निकै धेरै मान्छेपछि हिरासतमा देखिन्थे । सिंहदरबारअगाडिको बग्गीखानामा अस्थायी हिरासत थियो, त्यस दिन त्यहाँ सबै लेखक साहित्यकार थिए ।
धर्नामा बस्नेबित्तिकै सबैलाई प्रहरीले हकारपकार गर्दैै उठाएपछि घन्टाघरअगाडि राखिएको ट्रकमा पु¥याए । सबैजना खुरुखुरु चढ्न थाले, हामी पनि चढ्यौँ । तर, अटेसमटेस हुनेगरी कोच्न थालिएपछि फेरि अर्कोपटक मलाई नराम्रोसँग डर लाग्यो । कतै समातेर शरीरको सन्तुलन मिलाउन पनि कठिन थियो । अलि ठूला जिउडाल भएका त माथि समातिरहेका थिए, साना काँटीका व्यक्तिलाई निकै अफ्ठ्यारो भइरहेको देखिन्थ्यो । कवि हरि अधिकारी ट्रकमा मसँगै हुनुहुन्थ्यो । उहाँलाई त्यो ठेलमठेलको अवस्थामा सासै फेर्न पनि निकै असहज भइरहेझैँ लाग्थ्यो । बग्गीखानामा पु¥याइएपछि हामीलाई लाइन लगाएर दक्षिणतर्फको लमतन्न परेको घरको छिँडीमा लगियो । लामो अँध्यारो हल थियो । तर, त्यहाँ साँझसम्म बस्दा पनि हामीलाई समय बिताउन गाह्रो भएन । त्यतिवेला हामीजस्ता नवयुवालाई एकसे एक लेखकको कुरा सुन्दा मात्रै पनि निकै रमाइलो लागिरहेको थियो । त्यो हिरासतमा प्रकाश सायमी निकै फूर्तिला देखिन्थे । उनी लेखक–साहित्यकारको अटोग्राफ लिन व्यस्त थिए । केही घन्टामा त्यहाँ संसारका सबै विषयमा बहस र कक्षासमेत चले ।
केही घन्टापछि हिरासतमा रहेकालाई पालैसँग लिएर जान थालियो । पहिले त मलाई अब यहाँबाट स्थायी बसोवासका लागि कारागारतर्फ लैजान लागेका होलान् जस्तो लागेको थियो । तर, आफ्नो पालो आएपछि थाहा भयो, बयानका लागि लगिँदै गरेको रहेछ । जब मेरो पालो आयो, माथि कोको थिए, पहिले चिन्न भनियो । यत्ति सम्झिन्छु कुनै एक व्यक्ति बयान लिन बसेका बर्दीधारीमध्ये सबैभन्दा वरिष्ठ थियो । मुभी क्यामेराका अगाडि उभिन लगाइयो । त्यसपछि एउटाले सोध्यो, नाम, ठेगाना, काम । नाम–ठेगाना बताइदिएँ । यसो हेर्दा तिनीहरूले स्लेटमा लेखेर फोटो खिच्ने हुन् कि जस्तो लागेको थियो । तर, पक्राउ पर्नेहरू धेरै भएकाले हुनुपर्छ, बोल्न मात्र लगाए । मैले भने म विद्यार्थी मात्र हुँ । एउटाले सोध्यो, उसो भए पढ्ने उमेरको युवा यस्तो धर्नासर्नामा किन आएको रु मैले बिस्तारै भनेँ, यतिका मानिस आएका छन्, म पनि आएँ । क्यामेराम्यान मजाले फोकस मिलाई–मिलाई खिचिरहेका थिए । तर, मलाई अहिले सम्झिँदा लाग्छ, त्यसवेला त्यो क्यामेरामा फिल्म थिएन, हामीलाई अर्कोपटक फेरि सडकमा नउत्रियोस् भनेर मात्र त्यसरी तर्साइएको थियो ।
क्यामेरामा उभ्याएर बयान लिएपछि रुखो ढंगले एउटाले जान भन्यो । ढोकामा अर्कोले भन्यो सरासर घर जा । त्यहाँबाट निस्कँदा म एक्लै थिएँ । लुरुलुरु घरतिर लागेँ । त्यतिवेला हिँड्दै गर्दा बाटोमा मलाई लाग्दै थियो, यो पञ्चायत त अब ढल्छ नै होला । त्यत्रा त्यत्रा सामाजिक व्यक्तित्व यो व्यवस्थाले थोपरेको तथाकथित अमनचयनको अनुशासनलाई तोडेर सडकमै निस्किसकेका छन् । नभन्दै पञ्चायत ढल्यो र बितेका करिब तीन दशकमा हामी राजनीतिक आरोह–अवरोहका अनेक क्षणको साक्षी भयौँ ।
चैत ३ गते ०४६ सालको ऐतिहासिक जनआन्दोलनका कालखण्डको एउटा महŒवपूर्ण दिन थियो । त्यो एक दिनको मात्र सम्झना गर्दा पनि आज हामी लोकतन्त्रको बाटोमा कति माथि उक्लिसकेका छौँ भन्ने गौरवानुभूति हुन्छ । पछाडि फर्किएर हेर्दा, प्रेस, अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रताको जरा फैलिएर गएपछि अहिले सिर्जना भएको वातावरणको झन् बढी माया लाग्दो रहेछ । नेपालको अनेक राजनीतिक कालखण्डमा निर्भीक सर्जकहरूले गरेको सम्झौताहीन संघर्षकै परिणामस्वरूप हामीले आज सिर्जनशीलताको असीमित क्षितिज पाएका छौँ । त्यसैलै, चैत ३ पुस्तक लेखेकै कारण सहादत प्राप्त गर्ने सुब्बा कृष्णलालदेखिका लेखक–साहित्यकारको संघर्षको सम्झना गर्ने दिन हो । न्याय र समानताको गीत गाएबापत, नाटक देखाएबापत, सिर्जनात्मक क्षमतालाई प्रष्फूटन गराएकै कारण हिजो जेल–नेल सजाय पाउने साहित्यकार र गौरवपूर्ण गाथाको स्मरण गर्दा हामीलाई आफ्नो कर्तव्यको बोध हुन्छ ।
प्रतिक्रिया दिनुहोस