चितवनमा न्यून गुणस्तरको तेल प्रयोग

मंगलबार, २८ फागुन २०७५, १३ : २१
चितवनमा न्यून गुणस्तरको तेल प्रयोग

– नारायण अधिकारी 
चितवन । चितवनमा सञ्चालनमा रहेका ठूला तथा साना होटलले कम गुणस्तरीय तेल प्रयोग गर्ने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरले गरेको अनुगमनका क्रममा एउटै तेल पटक–पटक प्रयोग हुँदा तेलको गुणस्तर कम भएको पाइएको हो । 

विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीका अनुसार मुग्लिनमा २५ र भरतपुरमा छ होटलमा अनुगमन गरिएको थियो । नारायणगढका राम्रा भनिएका होटलमा समेत अनुगमन गरिएको हो । उहाँका अनुसार नारायणगढको राम मिष्ठान्न भण्डार, वैष्णव मिष्ठान्न भण्डार, सेन्ट्रलपाम होटल, रेडकार्पेट होटल, भरतपुरको ग्लोबल होटल र भरतपुर अस्पतालको रुचि खाजाघरमा अनुगमन गरिएको थियो । 

अनुगमनका क्रममा गुणस्तरको मापदण्ड कम भएको तेल प्रयोग गरेको पाइएको सुवेदीले जानकारी दिनुभयो । मापदण्ड नपुगेको ५० लिटर तेल नष्ट गरिएको उहाँले बताउनुभयो । यस्तै होटलको स्वस्थकर खानाका विषयमा जानकारी नभएका कर्मचारीहरु काममा लगाउने गरेको पाइएको उहाँले बताउनुभयो । खाना बनाउने ठाउँ फोहर, होटलमा काम गर्ने कर्मचारीको व्यक्तिगत सरसफाइमा ख्याल नगरिएको, दक्ष कामदारको प्रयोग नभएको अनुगमनका क्रममा पाइएको सुवेदीको भनाइ छ । अनुगमनपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “पहिलाको भन्दा केही मात्रामा सुधार देखिए पनि सन्तोषजनक भने पाइएन ।” 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरका प्रमुख बिक्की राउतका अनुसार अनुगमनमा खाद्य प्रयोगशालाबाट ल्याबसहितको गाडी ल्याएर तेलको गुणस्तर मापन गरिएको थियो । सेवाग्राहीको स्वास्थ्यमा यसले प्रतिकूल असर पार्ने उहाँले बताउनुभयो । 

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीका अनुसार निरन्तर एउटै तेलको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने बताउनुभयो । रगत र मुटुका नलीहरुमा बोसो जम्ने समस्या हुने पनि उहाँले बताउनुभयो । यसबाट हृदयाघात, आँखाको रेटिना जम्ने, घाउहरु आएर निको नहुने जस्ता समस्या देखिने अधिकारीको भनाइ छ । लामो समय राखिएको तेलमा मिसावट हुनसक्ने भएकाले खाना विषाक्त (फुड पोइजन)को खतरा पनि बढ्ने उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस