नेपालीको मृत्यु, विदेशी बेपत्ता

सफल खबर संवाददाता

शनिबार, २५ फागुन २०७५, ०९ : ११
नेपालीको मृत्यु, विदेशी बेपत्ता

मनाङ। क्याङ्दीमा हिम पहिरोमा पुरिएर एकजना नेपालीको मृत्यु भएको छ भने एकजना विदेशी नागरिक बेपत्ता भएका छन् । धादिङका अजय ढकालको मृत्यु भएको हो, उनी ट्रेकिङ गाइड थिए । नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुम हराइरहेका छन् । उनीहरु दुई जनामात्र अन्नपूर्ण पदयात्रामा निस्किएका थिए ।

यही फागुन २३ गते मनाङबाट फर्किने क्रममा उनीहरु पहिरोमा परेका थिए । मनाङको निस्याङ गाउँपालिका¬–१ मा पर्ने क्याङ्दी भिरमा उनीहरु खसेका थिए । लगत्तै खोजी कार्य सुरु गरिएको थियो । ढकालको शव हिउँले पुरिएको अवस्थामा शुक्रबार साँझ फेला पारिए पनि नेदरल्याण्डका नागरिक भिनसेन्टलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक श्रवणकुमार विकले जानकारी दिए । नेदरल्याण्डका नागरिक भिनसेन्टको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । ढकालको शव पोष्टमार्टम गरेर शनिबार आफन्तलाई जिम्मा लगाइने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस