सुदूरपश्चिमका राहत तथा बाल विकास शिक्षकहरु र खानेपानी मन्त्रीबीच भेटवार्ता

बुधबार, २२ फागुन २०७५, १७ : १०
सुदूरपश्चिमका राहत तथा बाल विकास शिक्षकहरु र खानेपानी मन्त्रीबीच भेटवार्ता

काठमाडौं । देशभरका सामुदायिक विद्यालयका राहत र बालविकास शिक्षकहरू काठमाडौँमा आन्दोलनरत रहेकै बेला सुदुरपश्चिमका राहत तथा बालविकास शिक्षकहरुले आज बुधबार खानेपानी मन्त्री बिना मगरसँग भेट गरी आफ्ना माग तथा गुनासाहरु सम्बोधन गराउन पहल गर्न ध्यानाकर्षण गराएका छन् । 
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटघाटमा सुदूरपश्चिमका राहत तथा बालविकास शिक्षकहरुको प्रतिनिधिमण्डलले आफूहरुले उठाएका मागहरु सम्बोधन गराउन पहल गर्न खानेपानी मन्त्रीको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले संघीय शिक्षा ऐनले आफूहरुको अधिकार खोसिन लागेको गुनासो गर्दै खानेपानी मन्त्री समक्ष तत्काल वार्ताको वातावरण बनाउन पहल गरिदिन माग गरेका छन् । 
संघीय शिक्षा ऐनको ड्राफ्टमा स्थायी व्यवस्थापन गर्ने कुनै पनि प्रक्रिया नराखिएको कारण आन्दोलन गर्नुपरेको उनीहरुको भनाई थियो । 
भेटमा खानेपानी मन्त्री मगरले राहत तथा बाल विकास शिक्षकहरुले उठाएका माग प्रति आफू सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो । बालबालिकाको भविष्य निर्माणमा बाल विकास शिक्षकहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै उहाँले सदन र मन्त्रिपरिषद् बैठक समक्ष कुरा राख्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस