बोटे युवाको पेशा परिवर्तन गर्न अटोरिक्सा वितरण

बुधबार, २२ फागुन २०७५, १६ : ५१
बोटे युवाको पेशा परिवर्तन गर्न अटोरिक्सा वितरण

- अपिल घिमिरे
चितवन । नदी र जंगललाई प्रमुख आयस्रोत बनाउँदै आएका बोटे समुदायका पाँच युवालाई बुधबार चितवनको पटिहानीमा अटोरिक्सा वितरण गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको आर्थिक लगानी तथा पटिहानी उपभोक्ता समूहको व्यवस्थापनमा भरतपुर महानगरपालिका वडा नम्बर १३ र २२ का प्रदिप बोट, आइतराम बोट,दिनेश बोट, भरत बोट र छेदु बोटले अटोरिक्सा प्राप्त गरेका छन् ।

बोटे समुदायका युवालाई स्वरोजगार सृजना गर्ने उद्देश्यले चितवन राष्ट्रिय निकुञ्जले पटिहानी उपभोक्ता समूहलाई तीस लाख प्रदान गरेको थियो । पटिहानी उपभोक्ता समितिले आयआर्जन घुम्तीकोष स्थापना गरी कोषमार्फत अटो वितरण गरेको हो । एउटा अटोको मूल्य पाँच लाख पचपन्न हजार रहेको छ। अटो प्राप्त गरेका प्रत्येक व्यक्तिले उक्त रकमबिना ब्याज दुई वर्षसम्म प्रतिदिन पाँच सयका दरले र बीस महिना प्रतिदिन तीन सय पच्चीसका दरले घुम्ती कोषमा जम्मा गर्ने छन् ।

बयालीस महिनामा सबै साँवा रकम जम्मा गरेपछि उनीहरूले रिक्सा आफ्नो बनाउन सकिने व्यवस्था उपभोक्ता समितिले गरेको छ । पहिलो बर्षको बीमा समेत समितिले जिम्मा लिएको छ भने त्यसपछिको सबै खर्च व्यवस्थापन चालक आफैले गर्नु पर्नेछ ।

अटोरिक्सा वितरण कार्यक्रममा बोटे समाज चितवनका अध्यक्ष मित्रलाल बोटले अटोरिक्सा वितरण कार्यक्रमले नदी तथा जंगलमा आश्रित समुदायहरूको पेशा परिवर्तन गर्न मद्दत पुगेको र निकुञ्जमा चाप न्यूनीकरण गर्न सहयोग भएको भन्दै सबैलाई धन्यवाद प्रकट गर्नुभयो। उहाँले एक कुशल चालक भएर ईमान्दारीसाथ यो नयाँ पेशा अपनाउन र नियमित कोषमा बचत गर्न अटोचालकलाई सचेत गराउनु भयो ।

राष्टिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत अनिल प्रसाइले नदीमा आश्रित बोटे समुदायका युवालाई यसरी पेशा परिवर्तन गराउँदा वन वन्यजन्तु र जल सम्पदामा संरक्षण गर्न सहयोग पुग्ने भन्दै रिक्सा वितरण कार्यक्रमको प्रशंशा गर्नुभयो । साविक पटिहानी गाविसका अध्यक्ष मधुसुधन सापकोटा,  उपाध्यक्ष रामजीप्रसाद सापकोटा, रेडक्रस सोसाइटी शाखा पटिहानीका सभापति कुमारप्रसाद थपलिया लगायतले अब जल सम्पदाको संरक्षण र जलचर प्राणीको रक्षाका लागि पनि माछा मार्ने पेशाको बिकल्प आवश्यक रहेको चर्चा गर्दै अटो हस्तान्तरणले बोटे समुदायमात्र नभर्इ स्थानीय सबै उत्साहित भएको बताउनु भयो । उहाँहरुले पटिहानी  मध्यवर्ती क्षेत्र अन्तर्गतका सामुदायिक वन संरक्षणका लागि अफूहरूले  र राष्ट्रिय निकुञ्जले गरेको योगदानको स्मरण गर्दै हस्तान्तरण गरिएका र आफैले रोपेर हुर्काएको वनमा पर्यटकीय कृयाकलाप गराउन नपाएकोमा चितवन राष्ट्रिय निकुञ्जको ध्यानाकर्षण गराउनु भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले निकुञ्जले समुदायसंगै सहकार्य गरी मानव र वन्यजन्तुको सहअस्तित्वलाई संगसंगै अगाडि लैजान आवश्यक रहेको बताउनु भयो । उहाँले अटोरिक्सा हस्तान्तरण एक नमुना कार्यक्रम भएकोले अन्य समुदायलाई पनि प्रेरक बन्न सकोस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

बोटे युवाहरुलाई अटोरिक्सा वितरण कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर १३ का  अध्यक्ष प्रकाश दवाडीले अब बोटे समुदायले संधै खोलो र जाल अनि जंगललाई परम्परागत पेशा मानेर नबस्न आग्रह गर्नुभयो । अध्यक्ष दवाडीले भन्नुभयो, "खोलामा जाल चलाउँ तर माछालाई पुन जिउँदो अवस्थामा खोलामै छोडौं न ।" उहाँले वन, वन्यजन्तुको संरक्षण तथा जल र जलचर प्राणीको रक्षा गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले यसरी प्रदान गरिएको अटो बोटे समुदायको पेशालाई आधुनिकिकरण गर्न लागिएकोमा यसको निरन्तरताको लागि पनि पटिहानी उपभोक्ता समूह र चितवन राष्ट्रिय निकुञ्जलाई अनुरोध गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।

पटिहानी उपभोक्ता समितिका अध्यक्ष शंकर महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपभोक्ता समितिका उपाध्यक्ष माधवराज आचार्यले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव बोधराज सापकोटाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस