चितवनका सीडीओ कड्किए– ‘मेरो कुनै आर्थिक कमजोरी देखाउनूस् राजीनामा दिन्छु’

आइतबार, १९ फागुन २०७५, १६ : ४४
चितवनका सीडीओ कड्किए– ‘मेरो कुनै आर्थिक कमजोरी देखाउनूस् राजीनामा दिन्छु’

भरतपुर । चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले आफ्नो कुनै किसिमको कहीँकतै आर्थिक कमजोरी भए त्यसलाई देखाउन चुनौती दिनुभएको छ । 
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सहयोगमा भ्रष्टाचार विरुद्ध अभियान चितवनले आज गरेको सदाचार प्रतिबद्धता कार्यान्वयन छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बस्नेतले आफूविरुद्ध कहीँ कतै त्यस्तो गलत प्रविधि कसैले प्रमाणसहित देखाए आफूले भर्खर राजीनामा दिएर बाटो लाग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘म मुख्य सचिवसम्म हुने मान्छे हो, मेरो विरुद्धमा कतै केही भेट्नुभएको छ भने ल्यानूस्, म राजीनामा दिन्छु, तर सबैलाई एउटै बास्केटमा नहाल्नूस् ।’
उहाँले जिल्ला प्रशासन कार्यालयमा पछिल्लो समय धेरै नै सुधार आएको बताउँदै कर्मचारी भनेका सबै घुस्याहा हुन्छन् भनेर एउटै बास्केटमा नहाल्न नागरिक समाजसँग आग्रह गर्नुभयो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘जिल्ला प्रशासन कार्यालयमा टोकन सर्भिसबाट सेवा भइरहेको, यहाँ कुनै कुरा लुक्दैन सबै पारदर्शी छ ।’ उहाँले प्रशासन कार्यालयमा सिसिक्यामेरादेखि वाईफाईसम्मको सुविधा रहेको बताउनुभयो । 
उहाँले जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्षदेखि सेवाग्राही वृद्धवृद्धासम्मलाई बस्ने ठाउँको व्यवस्था गरिएको बताउनुभयो । उहाँले सेवा लिनेक्रममा सेवाग्राहीलाई एकछिन कुर्दैमा बोर फिल नहोस् भनेर टिभीको समेत व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले बिचौलियालाई गेटभित्र प्रवेश गर्न दिएकै छैनौँ, फर्म भर्ने कामपनि भित्रै भइरहेको छ ।’
भ्रष्टाचार विरुद्ध अभियान चितवनका संयोजक भीमबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदी, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, समाजसेवी टेकबहादुर थापा, पत्रकार महासंघ चितवनका उपाध्यक्ष शान्ता अधिकारी, नवराज ढकाल, यमबहादुर कँडेललगायतले मन्तव्य दिएका थिए । उहाँहरुले सरकारी कार्यालयमा भइरहेको अनियमितताबारे आफ्नो धारणा राखेका थिए । 
पत्रकार राजु थापाले मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालयका सेवाग्राहीलाई सोधेर पुस महिनामा तयार पारेको अध्ययन सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । पत्रकार थापाले सर्वेक्षणअनुसार ५० प्रतिशत सेवाग्राही सेवाबाट सन्तुष्ट नभएका र ढिलासुस्ती, हैरानी व्यहोर्न परेको जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस