अलविदा भरतमोहन !

जनताका लोकप्रिय नेता भरतमोहन, जस्ले आफ्नो गाउँ आँफै बनाऔ देखी वृद्ध भत्ता सम्मको थालनी गरे

शनिबार, १८ फागुन २०७५, २२ : २२
जनताका लोकप्रिय नेता भरतमोहन, जस्ले आफ्नो गाउँ आँफै बनाऔ देखी वृद्ध भत्ता सम्मको थालनी गरे

चितवन । वृद्धवृद्धालाई भत्ता दिने अर्थमन्त्री हुन् भरतमोहन अधिकारी । २०५१ सालमा ९ महिने तत्कालीन एमालेको सरकार हँुदा वृद्धवृद्धालाई भत्ता दिने व्यवस्था गरिएको हो । जतिबेला अर्थमन्त्री भरतमोहन अधिकारी थिए । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारमा भरतमोहन अर्थमन्त्री हुँदा वृद्धवृद्धालाई भत्ता दिने व्यवस्था सुरू भएको हो । अहिलेसम्म यो व्यवस्था कार्यान्वयनमा छ । जुन व्यवस्था जनताको माझ अहिले पनि लोकप्रिय छ । 
विराटनगरलाई कर्मथलो बनाएर बामपन्थी राजनैतिक आन्दोलनमा होमिएका नेता अधिकारी सामाजिक व्याक्तित्वका रुपमा समेत परिचित थिए । यसअघि अधिकारीलाई प्रदेश नं. १ का जेष्ठ नागरिकहरुको तर्फबाट शनिबार श्रद्धापूर्वक नागरिक अभिनन्दन गरिएको छ । ८४ वर्षीय नेता भरतमोहन अधिकारीसँगै उनकी पत्नी ओमकुमारी अधिकारीलाई समेत प्रदेश १ का प्रमुख डा. गोविन्दबहादुर तुम्वाहाङ र मुख्यमन्त्री शेरधन राईले अभिभन्दन गरेका थिए । 

यस्तो छ, अधिकारीको जीवनी 
२२ बैसाख विस १९९३ मा महोत्तरीको भ्रमणपुरा गाउँमा जन्मेका भरतमोहन अधिकारी पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीका सहोदर भाइ हुन् । कृष्णमोहन, जगतमोहन पनि उनका दाजु हुन् । सुशीला अधिकारी उनकी बहिनी हुन् । पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीले भारतको इलाहावादबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए । उनले बनारसको हिन्दु विश्वविद्यालयबाट राजनीति शास्त्र, दर्शन शास्त्र र अर्थशास्त्रमा बिए गरेका थिए । साथै उनले त्रिबिबाट अर्थ शास्त्रमा एमए र कानुनमा बिएल गरे । 
भरतमोहन चार पटकसम्म मन्त्री भएका थिए । एमालेको नौ महिने शासन कालमा उनी अर्थमन्त्री थिए । त्यो बेला जेष्ठ नागरिकहरुलाई बृद्धभत्ता पहिलो पटक प्रदान गर्ने, ‘गाउँ–गाउँमा सहकारी घरघरमा रोजगारी’ कार्यक्रम संचालन गराएका थिए । पहिलो पल्ट ज्येष्ठ नागरिक र सुत्केरीलाई भत्ता दिएपछि प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको एमाले सरकार लोकप्रिय बनेको थियो । त्यसैबेला कम्युनिष्टहरुले बुढापाकाहरुलाई मार्छन् भन्ने भ्रम पनि हटेको थियो । विराटनगरको आर्दश माविबाट भरतमोहनले प्रारम्भीक शिक्षा सुरू गरेका थिए । 
उनले सन १९५२ मा १६ वर्षको उमेरमा भारतको बनारसमा हुँदा भारतीय कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । उनी २००८ मा गठन भएको आर्दश विद्यालयको छात्र संघका अध्यक्ष थिए । उनकै नेतृत्वमा २००७ सालमा विराटनगरको जुद्ध स्कुलको बोर्ड ढुंगाले हानेर कुच्याएर आर्दश स्कुलको बोर्ड राखिएको थियो । उनी २०४८, ०५१ र ०५६ मा मोरङबाट प्रतिनिधि सभामा विजयी भएका थिए । 
विराटनगरकै एलिट क्लबमा उनि लामो समयसम्म महासचिवको जिम्मेवारी वहन समेत गरेका थिए । बिराटनगरको मोरङ क्याम्पसमा उनले अध्यापन गराएका थिए भने अदालतमा वलकात पनि गरेका थिए । त्यत्ति मात्र हैन उनी पञ्चायतको विरोधमा संघर्ष गर्दा विराटनगरकै जेलमा बन्दिसमेत बनेका थिए । 
उनले वि.सं. २०१५ मा कम्युनिष्ट पार्टीको मुखपत्र नवयुगको सम्पादकको भूमिका निभाएका थिए । २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रविरुद्ध कु गरेपछि उनले सोभियत संघमा पिएचडी पढ्न पाएको छात्रवृत्ति त्यागेर सक्रिय राजनैतिक संघर्ष रोजेका थिए । अधिकारीले २०१८ सालदेखि कोशी प्रान्तीय कमिटीको सचिव बनेर पूर्वमा कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेका थिए । उनी साईकल चढेर गाउँ–गाउँमा कम्युनिष्ट पार्टीको पर्चा वितरण गर्थे । तत्कालिन नेकपाका महासचिव केशरजंग रायमाझीले राजाको सेवा गर्न थालेपछि उनले २०१९ मा नेकपाको तेस्रो महाधिवेशन गराउन पहल गरेका थिए । जसमा पुष्पलाल श्रेष्ठ, तुलसीलाल आमत्यसहित देशभरबाट एक सय बढी क्रान्तिकारीहरु सहभागी भएका थिए । 
उनी तेस्रो महाधिबेशनबाट पोलिटब्युरो सदस्य निर्वाचित भए । तत्कालिन माले र माक्र्सबादीलाई एकीकरण गराएर एमाले बनाउने नेताका रुपमा पनि उनी चिनिन्छन् । २०४६ को पञ्चायतविरुद्धको आन्दोलनमा उनले बाम मोर्चा गठनमा सक्रिय रुपमा भूमिका खेलका थिए । उनकै पहलमा सात वटा बाम घटकहरु एक भएर संयुक्त बाम मोर्चा निर्माण गरेपछि पञ्चायतविरूद्धको आन्दोलन सफल भएको थियो । 
कम्युनिष्ट पार्टीको छैठौ, सातांै र आठांै महाधिवेशनबाट उनी लगातार स्थायी समितिमा निवार्चित भएका थिए । २०७१ को महाधिबेशनबाट उनले पार्टीको कुनैपनि जिम्मेवारी नलिने स्वैच्छिक अवकाशको घोषणा गरेका थिए । पटक पटक मन्त्री भएका उनले अर्थ, कानुन, उर्जा, निर्माण बाणिज्य तथा आपुर्ति मन्त्रालय सम्हालेका थिए । उनको नेपालमा औधोगिकरणको समस्या, मेरो जीवन यात्र भाग–२ प्रकाशित छन् भने जनताको बहुदलिय जनबादको अर्थशास्त्र प्रकाशोन्मुख छ । 
आफ्नो गाउँ आफँै बनाऔँ, जेष्ठ नागरिक भत्ता, नौ ‘स’ को अभियान, राष्ट्रिय विभुतिका नाममा सडक नामाकरण, हेटौडा काठमाण्डौ सुरुंग मार्ग, सडकको दुवै किनारमा बृक्षरोपण, सुत्केरी भत्ता, श्रीमान्–श्रीमतीको संयुक्त नामा जग्गा पास, गाउँ गाउँमा सहकारी घरघरमा रोजगारी आदि अधिकारी सरकारमा हुँदा संचालन भएका स्मरण योग्य कार्यक्रमहरु हुन् । सबै राज्यले गर्नुपर्छ र सबै बजारलाई छाड्नुपर्छ भन्ने दुवै अतिबादी चिन्तनको बिचबाट उनले राज्य, सहकारी र नीजि क्षेत्रको तीन खम्बे अर्थ नीति अंगिकार गर्न नेतृत्व गरेका थिए । 
बजेटमा समाजिक कार्यक्रमहरु समावेश गर्ने जस पनि भरतमोहनलाई नै जान्छ । २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गरेर सत्ता हातमा लिँदा उनी उपप्रधानमन्त्रीकै अवस्थामा पक्राउ परेर तीन महिना घरमा नजरबन्दमा बसेका थिए । २०६२ मा पनि ज्ञानेन्द्र शासनविरूद्ध संघर्ष गर्दा उनलाई नजरबन्दमा राखिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस