चितवन । भनिन्छ, जीवन सुखदुःखको चौतारी हो, तर मदन ठकुरीलाई लाग्छ, जीवन दुःखको खाडल हो । उनको जीवन दुःखको मरुभूमिमा अझै पनि गुज्रिरहेको छ । मानिसहरु भन्ने गर्छन् दुःखपछि सुख आउँछ, तर भरतपुर ११ गणेशस्थानको टिनमुनिको टहरोमा बस्दै आएका ठकुरीलाई सुखको कहिल्यै अनुभूति भएन ।
अबको चार महिनापछि उनी ७६ वसन्त कट्छन् । यो उमेरमा उनको साथी हो ठेला । उनको लागि वर्सौदेखि ठेला दुःख बिसाउने साधन मात्र नभई चुल्हो बाल्ने अँगेनोसमेत बनेको छ । ‘जहाँ लाग्छ मेला, त्यहाँ पुग्छ मदन ठकुरीको ठेला’ ठेला धकेल्दै गरेका उनी भन्छन् । ठेला धकेल्न उनलाई आफ्नो जीवनसाथी कान्छी ठकुरीले पनि साथ दिएकी छन्, त्यसैले त उनी खुसी छन् ।
‘जीउ सुक्यो, मासु सुक्यो, सुक्यो मेरो छाला
रूप सुक्यो, रंग सुक्यो, सुके अब गाला
बल गयो, आँट गयो, गयो सबै जोस
सबै कुरा भूल्न थालें, उडी सक्यो होस !!
तर पनि मदन ठकुरीले सुख पाउँदैनन् ठेला नधकेली । झिसमिसेमा उठ्यो । ठेलामा दुईचार किलो स्याउ, दुईचार घरी केरा, दुईचार किलो सुन्तला राख्यो । अनि लियो हिँड्यो । जहाँ भोक लाग्छ, त्यही केही किन्यो आफ्नो पेट भ¥यो । यो नियतिमा मदन ठकुरी हिँडिरहेका छन् । उनले जीवनमा धेरै कष्ट गरे, तर पनि दुःखपछि सुख उनलाई आएन ।
भन्छन्, ‘डाँडामाथिको घाम भइएको छ, अब किन र केका लागि चाहियो सुख ?’ सुखको खोजीमा जति दौडिए पनि फेला नपरेपछि आजित भएका छन् ठकुरी । उनले थपे, ‘यो संसारमा सुख अरुले पाएका छन् त ?, रंगीन दुनियाँको सहर देख्दा त मलाई पाएजस्तो लाग्छ, आफूलाई ठेला नधकेली मुखमा माड लाग्दैन, चिसो चुल्हो बल्दैन ।’ बूढेसकालमा न गरी खान सकिन्छ, न मरी जान सकिन्छ । उनलाई यति साह्रै त भएको छैन । गरेर खान सकेका छन् ।
काभ्रे धुलिखेलमा भएको हो उनको जन्म । कर्म त उनको चितवन र मकवानपुरमा बित्यो । बाल्यकालदेखि युवा अवस्थासम्म उनको जीवन मकवानपुरमा बितेको हो । मकवानपुरमा नै उनी बहुदलको लागि आन्दोलनमा होमिएका थिए ।
रुपचन्द्र विष्टसँगै आन्दोलनमा
रूपचन्द्र विष्ट मकवानपुरलाई आफ्नो कार्यक्षेत्र र चेतना फैलाउने शिक्षावादी, नारीवादी र जनवादी नेता थिए । मदन ठकुरी उनै रुपचन्द्र विष्टसँगै आन्दोलनमा होमिएका व्यक्ति हुन् । धेरै पटक राजद्रोहलगायत अन्य आरोपमा विष्ट पक्राउ परेका थिए । उनै विष्टसँग मदन ठकुरी पनि पटकपटक जेल परेका थिए । उनी भन्छन्, ‘मकवानपुरमा रुपचन्द्र विष्टसँगै आन्दोलनमा हिँडेको मान्छे म, २०३६ सालमा मात्र ३ पटक जेल परेको थिएँ, ४६ सालमा पनि ३ पटक जेल परेँ ।’
उनी पटकपटक जेल परे पनि पटकपटक छुटेका हुन्थे । त्यतिबेलाको घटना सम्झदै उनले भने, ‘तत्कालीन समयका सुरक्षाकर्मीहरुले बहुदल ल्याएर के हुन्छ, भन्दै खुट्टामा हिर्काएका थिए । बन्दुकका नाल सोझाएका थिए, कसो पड्काएनन् ।’
तत्कालीन पञ्चायती सरकारले उनलाई धेरै पटक जेल हालेर यातना दिएको उनी बताउँछन् । लेखपढ गर्ने अवसरसमेत नपाएका ठकुरीले भने, ‘न मैले बुबा चिन्न पाएँ, न अन्य सन्तान, आमाचाहीँ २०४२ सालमा बित्नुभएको हो ।’
यतिबेला सम्पतिको नाममा उनको ठेलाबाहेक अरु केही छैन । पहिले पनि थिएन । मकवानपुरमा पनि उनी मजदुरी गरेर नै खान्थे । अहिले गणेशस्थानको ऐलानी जग्गामा टिनको छाप्रो हालेर घामपानी छेकेका छन् उनले । ठेला धकेलेर आफू र आफ्नो श्रीमती पालेका छन् उनले ।
‘श्रीमती पनि ७२ वसन्त कटेकी छन्, अब काम गरेर खान नसक्ने बेला आयो, के गर्ने ? न सन्तानको आश न परिवारको’ उनले भने, ‘२०२८ सालमा विवाह बन्धनमा बाँधिएका ठकुरीको कुनै सन्तान भएनन् ।’
२०४९ सालमा चितवन
२०४६ सालमा बहुदल आयो, २०४९ सालमा उनी चितवन झरेका थिए । चितवन गएर केही गर्नुपर्छ भनेर उनी आएको बताउँछन् । त्यतिबेला चितवन रिक्साको सहर भनेर चिनिन्थ्यो । २०४९ देखि ५२ सालसम्म उनी मजदुरी काम गरे । अनि उनी रिक्सा किनेर चलाउन थाले । रिक्सा चलाएर आफू र श्रीमती पालिन जेनतेन पुगेको थियो । रिक्सा धकेल्दै उनले आफ्नो जीवन अगाडि बढाउँदै लगे । उनी भन्छन्, ‘रिक्सा चलाएर अरु के गर्न सक्नु, पेट भर्न र जीउ ढाक्न, यति त हो ।’
२०६५ सालमा उनको ठेला जीवन सुरू भएको हो । अहिले १० वर्ष पूरा भएको छ, ठेला जीवन । उनी भन्छन्, ‘धुन (रेडियो) सुन्न पुगेको छ, नुन खान र एक सरो लगाउन पुगेको छ, यति हो । हिजो रिक्सा चलाउँदा पनि यही, आज ठेला चलाउँदा पनि यही ।’
मनकारी मान्छे पनि छन्
भनिन्छ, मानवता हराएको सहरमा कसैलाई कसैको मतलब छैन । तर यही सहरमा केही मनकारी मान्छे पनि रहेका उनी बताउँछन् । उनको ठेलामा फलफूल किन्न आउने मान्छेले दुईचार सय लिनुस बुबा, हजुरबुबा भनेर दिएका उदाहरणहरु प्रशस्त छन् । उनले भने, ‘झन्डै ८० वर्ष पुग्न लाग्नुभयो, अझै ठेलाले छोडेन है भन्दै एकदुई सय बढी दिन्छन्, कोही चिया खानूस् भनेर दिन्छन्, खुसी लाग्छ ।’
कोही त ठेला धकेलेर पनि सहयोग गरेका उनी बताउँछन् । भरतपुरका हाटबजारमा उनी झुल्किछन् ठेला लिएर । बूढो मान्छेले ठेला लिएर दुखसाथ विक्री गरेको देखेपछि फलफूल किन्ने मान्छेहरु पनि बढी नै आउने गरेको उनको भनाइ छ ।
‘वृद्धभत्ता पनि खाइरहेको छु, फलफूल बेचेर कमाइ पनि केही गरिरहेको छु’ उनले भने, ‘एक पटक त लामो समय बिरामी भएँ, स्थानीयले दिएको चन्दाबाट सन्चो भएँ, भगवानको कृपाले अहिलेसम्म ठीक छु, अब के हुने हो ? डाँडामाथिको घाम कहिले डुबिने हो ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ फागुन २०७५, १३ : ३७
लेखकबाट थप