यमराजको होइन नालायकको शासन हाम्रो नेपालमा

सफल खबर संवाददाता

विहीबार, ०९ फागुन २०७५, ११ : ४९
यमराजको होइन नालायकको शासन हाम्रो नेपालमा

काठमाडौँ । नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको ३६५औं दिनमा युट्युबमा गायक पशुपति शर्माले एउटा गीत सार्वजनिक गरे, जुन अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । गीतको एक अन्तरामा गायक शर्मा भन्छन्,
हजुरबा नि यसै मरे बाऊ नि यसै मर्छन्
हाम्रो पनि त्यै हो गति, विकास कैले गर्छन् ?
गर्ने काम केही हैन, ठूला ठूला भाषण
स्वर्गजस्तो देशमा हजुर यमराजको शासन
लुट्न सके लुट कान्छा, लुट्न सके लुट
अरु देशमा पाइँदैन, नेपालमै हो छुट
गायक शर्माले भनेजस्तो यमराजकै शासन नेपालमा नभएपनि नालायकको शासन भने चलेकै छ । जनतालाई ठूला सपना बाँड्ने, भाषण ठूलो काम लुलो अहिलेको सरकारका विशेषता हुन् । त्यसैले त जनताले भन्न थालेका छन्, भाषणले नआउने भयो समृद्धि ।

ओली सरकारको एक वर्ष पूरा भएको छ । २०७४ साल फागुन ३ गते गठन भएको वर्तमान सरकारबाट नेपाली जनताले ठूलो अपेक्षा गरेको भएपनि त्यो पूरा नहुने अवस्था आएको छ । राजनीतिक विश्लेषकहरुका अनुसार डेमागम शैलीमा सत्तामा आएका ओलीले दैनिकजसो भाषणमात्रै गर्ने र काम नगर्ने विशेष स्वभावलाई सतहमा ल्याइदिएका छन् । उनले आफ्नो आलोचना गर्नेलाई नजिक पर्नै नदिने र कुनै पनि रचनात्मक काम समेत गर्न नसक्ने स्वभाव देखाएका छन् ।

जनतालाई बाँडिएका सपना कुनै पनि पूरा भएका छैनन् । जनताले अपेक्षा गरेको कुनै पनि काम अगाडि बढ्न सकेको छैन । जनताका लागि भनेर गरिएका हरेक जसो निर्णयमा नाफाखोर व्यापारी र दलालहरुको सक्रिय सहभागिता रहने गरेको छ । नेपाली जनताको भावना र चाहना भन्दा पनि त्यस्तै दलालहरुको फन्दामा सरकार परेको  भन्दै चौतर्फी आलोचना भएको छ । तर प्रधानमन्त्री ओली त्यस्ता आलोचना सुन्नै तयार छैनन् ।  

नेपाली जनताको समृद्धिको सपना समेत ओली नेतृत्वको सरकारले पूरा गर्न सकेको छैन । भाषण गरेको भरमा समृद्धि नआउने भन्दै पुनः ओली नेतृत्वको सरकारको खिसी टिउरी सूरु भएको छ । पार्टी एकताको काम समेत पूरा हुन सकेको छैन भने जनताको अपेक्षा समेत पूरा नभएको अवस्थामा ओली निरन्तरताको एक कार्यकारी भन्दा फरक देखिएका छैनन् ।

काठमाडौँको सडकको धुलो हटाउन छाडेर ओली पानीजहाजको पछाडि दौडिएका छन् । जनतालाई शिक्षा स्वास्थ्यमा सुविधा दिन छाडेर ओली रेलको पछाडि दौडिएको राजनीतिक विश्लेषकहरुको भनाइ छ । उनले समयको माग र आवश्यकतालाई सम्बोधन गर्नेभन्दा केही सिमित व्यक्तिको इच्छालाई सम्बोधन गर्न लागिपरेका छन् । उनले नेपालको महत्वपूर्ण समयलाई बर्वाद पारिदिएको जानकारहरुको टिप्पणी छ ।

नेकपालाई जुन विश्वासका साथ नेपाली जनताले भरोसा गरेका थिए, त्यो एक वर्षमा एक प्रतिशत पनि पूरा  हुन सकेको छैन । राजनीतिक नेतृत्व विश्वसनीय भन्दा पनि अविश्वसनीय बढी बन्दै आएको छ । उनीहरु बाहिर एउटा भन्ने र भित्र अर्को गर्ने अवस्थामा पुगेका छन् । सरकारले जनतामा ल्याएको निराशाले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था प्रति नै नागरिकको वितृष्णा बढ्न सक्ने तर्फ ध्यान दिनु पर्ने अवस्था आएको छ ।

प्रतिक्रिया दिनुहोस