लघुकथा : सिन्दुरको महत्व

सोमबार, २८ माघ २०७५, १४ : ०८
लघुकथा : सिन्दुरको महत्व

– राजन पराजुली
सीताको विवाह सुवाससँग धुमधामले भएको थियो । सीताभित्र मोडेल जमानाकी हुँ म भन्ने ठूलो अहम् थियो । विवाह भएको केही समयसम्म घरमा सासूससुराको डर अनि समाजमा इज्जतका लागि उसले राता चुरा अनि सिउँदोमा सिन्दुर लगाएर हिँड्थी ।

विवाह भएको वर्षदिनपछि सीताले सिन्दुर अनि हातमा रातो चुराका साथै बिहेको दिन पतिले लगाइदिएको पोते लगाउन नै छाडिदिई । ऊ सोच्ने गर्थी कि यो लगायो भने आफू सुन्दर हुँदिनँ, युवती रहँदिनँ, कसैले आफूलाई नजर लगाउँदैनन् । सिन्दुर, पोते, चुरा नलगाएर भर्खरकी केटी अर्थात् विवाह नभएकी केटीजस्तै भएर ऊ घरमा रहन्थी र टोलमा हिँड्थी । घरमा पति, सासूससुरा सबैले उसलाई गाली गर्थे, अनि टोलभर उसको कुरा काट्थे । तर, सीता भने कसैको कुरा सुन्दिनथी, आफ्नो जिद्दी नछोडी हिँड्थी ।

एकदिन सीता घरमा काम गरिरहेको बेला हस्पिटलबाट फोन आउँछ । सीताको आँखाबाट बररर आँसु खस्छ । उसको पति सुवासको दुर्घटनामा निधन हुन्छ । हतार हतार सबै परिवार हस्पिटलमा पुग्छन् । सुवासको लासलाई बुझेर घर ल्याई पु¥याउँछन् । गाउँभरका महिला मिलेर सीताको सिउँदो पानीले पखालिदिन्छन्, चुरा फुटाइदिन्छन्, पोते चुँडाइदिन्छन् । सीता बेस्सरी रून्छे । सुवासको लासलाई मसानघाट लगेर जलाइन्छ ।

बिस्तारै बिस्तारै दिन बित्छ । दुःखका क्षण भुल्दै हुन्छन् परिवार । त्यसैबेला टोलभर तीजका दिन सबै महिलाले रातो साडी, रातो पोते, सिउँदोमा सिन्दुर लगाएर हिँडेको सीताले आफ्नो कोठाको झ्यालबाट देख्छे । उसले आफ्नो सेतो पहिरन भएको अनुहारअगाडि रहेको ऐनामा हेर्छे, अनि दुवै आँखाबाट आँसु खसाएर सिन्दुरको महत्व सम्झिन्छे । (भरतपुर–२८, चितवन)

 

प्रतिक्रिया दिनुहोस