गैंडाकोटमा पर्यटकीय सम्भावना : राणा

विहीबार, २७ पुस २०७४, २० : ३७
गैंडाकोटमा पर्यटकीय सम्भावना : राणा

गैंडाकोट । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नवलपुरको गैंडाकोटमा औद्योगिक र पर्यटकीय विकासको सम्भावना रहेको बताउनु भएको छ । 
“आफ्नै गौरव आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैंडाकोट महोत्सव” भन्ने मूल नाराका साथ बिहीबारदेखि गैंडाकोटस्थित नारायणी नदी किनारमा सुरु भएको दोस्रो गैंडाकोट महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । समय अभाव भन्दै कम मात्रै बोल्नु भएकी उहाँले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
अध्यक्ष राणाले यस क्षेत्रको मात्र नभएर नेपालको अर्थतन्त्रलाई परिचालन गर्न महोत्सवले मद्दत गर्ने बताउनु भयो । उहाँले यहाँको कृषि उत्पादनलाई प्रवद्र्धन गरिनुपर्ने बताउनु भयो । मौलाकालिका मन्दिरमा छिट्टै केबुलकार निर्माणको लागि पहल गरिने अध्यक्ष राणाले बताउनुभयो ।
नवलपरासी दाउन्ने सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी शम्भु मरासिनीले नवलपुरलाई नमुनाका रुपमा चिनाउन उद्योग बाणिज्य संघले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले नवलपुर नयाँ संरचनाको रुपमा उदाइरहँदा यहाँको स्रोत र साधन प्रयोग गरेर यसको उचाई बढाउन सकिने बताउनु भयो ।
कार्यक्रमको उद्घाटनपूर्व बोल्दै गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले गैंडाकोटको गरिमाको रुपमा रहेको यस महोत्सवले गैंडाकोटको वास्तविक पहिचान दिलाउने बताउनु भयो । गैंडाकोट नगरपालिका उपप्रमुख विष्णुकुमारी कँडेलले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै महोत्सव गैंडाकोटको सान रहेको बताउनु भयो ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष किशोर प्रधान, समाजसेवी तिलक सापकोटा, यमुनाथ आचार्य, सहकारीको तर्फबाट खेमराज सापकोटा लगायतले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा स्वागत गर्दै उद्योग वाणिज्य संघ गैंडाकोटका उपाध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक दीपक सापकोटाले महोत्सवलाई सफल बनाउनका लागि सबैलाई रचनात्मक सहयोग गर्न आग्रह गर्नुभयो ।
उद्योग वाणिज्य संघ गैंडाकोटका अध्यक्ष अृमत भट्टचनको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटन समारोहको समापन गर्दे उहाँले गैंडाकोट महोत्सवलाई निरन्तरता दिने बताउनु भयो । उहाँले स्थानीय उत्पादनको बजारीकरण र कृषिको प्रवद्र्धनमा गैंडाकोट महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने दाबी गर्नुभयो ।


महोत्सव उद्घाटनअघि गैंडाकोट नगरपालिका परिसरबाट महोत्सवस्थल नारायणी नदी किनारसम्म शोभायात्रा निकालिएको थियो । शोभायात्रामा पञ्चकन्या, पञ्चेबाजा, हात्ती, उँट लगायत, गैंडाकोट क्षेत्रका विभिन्न संघसंस्थाले आफ्नो भेषभुषा, झाँकी र सांस्कृतिक पहिचान झल्कने गरी व्यानरसहित सहभागिता जनाएका थिए । 


माघ ८ गतेसम्म चल्ने महोत्सवमा ३ सय २० वटा स्टल रहेका छन् । महोत्सवमा दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । एक दिन कवि गोष्ठी र एक दिन स्मार्ट सिटीका बारेमा सेमिनार समेत हुनेछ । आईटी र अटो स्टल पनि मेलाका थप आकर्षण रहेका छन् ।

प्रतिक्रिया दिनुहोस