छड्के जाँचमा सात प्रतिशत सवारीचालकमा पाइयो दृष्टिदोष

सफल खबर संवाददाता

विहीबार, १० माघ २०७५, १७ : ४७
छड्के जाँचमा सात प्रतिशत सवारीचालकमा पाइयो दृष्टिदोष

चितवन । चितवनमा सवारीसाधनको यान्त्रिक परीक्षण तथा चालकहरुको स्वास्थ्य जाँच गरिएको छ । बिहीबार रामनगरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, भरतपुर अस्पताल, भरतपुर आँखा अस्पताल, यातायात व्यवस्था सेवा कार्यालय भरतपुर, चितवन अटोमेकानिकल व्यवसायी संघको संयुक्त आयोजनामा यो कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा ९७ वटा सवारीको यान्त्रिक परीक्षण, १ सय ३ जना चालकको आँखा परीक्षण र ९९ जना चालकको स्वास्थ्य परीक्षण गरिएकोमा १२ वटा सवारीमा ब्रेक आयल, हावा कम, मोविल चुहिने जस्ता समस्या देखिएको थियो । २० जना चालकहरुलाई ब्लड प्रेशर र ७ जना चालकहरुमा ब्लाइन्ड नेस, कलर भिजन, दृष्टिदोष जस्ता समस्या देखिएकोले थप उपचारको लागि सम्बन्धित अस्पतालमा जान सुझाव दिइएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरको प्रमुख आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रमको उद्घाटन सत्रमा तीन नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेत, चितवन अटो मेकानिकल व्यवसायी संघका अध्यक्ष राम लोहनी, यातायात व्यवस्था सेवा कार्यालय भरतपुरका प्राविधिक, भरतपुर अस्पताल र भरतपुर आँखा अस्पतालका चिकित्सकहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सवारी दुर्घटनालाई बिश्लेषण गर्दा दुर्घटनामा बढी सार्वजनिक सवारीको संलग्नता भएको देखिएको, सवारीको यान्त्रिक अवस्था र चालकको स्वास्थ्य अवस्था तन्दुरुस्त नहुँदा हुनसक्ने सम्भावित दुर्घटना तथा क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस