पूर्वी नाकाबाट २४ महिलाको उद्धार

बुधबार, १८ पुस २०७५, १० : १७
पूर्वी नाकाबाट २४ महिलाको उद्धार

भद्रपुर । माइती नेपाल काँकडभिट्टाले एक वर्षमा भारतका विभिन्न स्थानबाट २४ महिलाको उद्धार गरेको छ । 
काँकडभिट्टास्थित संस्थाको आवधिक गृहले एक वर्षको अवधिमा बेचबिखनमा संलग्न दलालको फन्दामा परी बेचिन लागेका महिलाको भारतका विभिन्न स्थानबाट उद्धार गरेको हो । सोही अवधिमा संस्थाले बेचबिखनको जोखिममा परेका २५९ जनालाई सीमानाका काँकडभिट्टाबाट रोकथाम गरेको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताउनुभयो । 

त्यस्तै संस्थाले ९१ जनालाई सीमानाकाबाट सोधपुछ गरी नेपाल फर्काएको थियो । बस, रिक्सा, टेम्पोलगायत सवारीसाधनका १६ हजार ११३ चालकलाई मानव बेचबिखनसम्बन्धी सचेतनासमेत प्रदान गरिएको घिमिरेले बताउनुभयो ।

वैदेशिक रोजगार तथा अध्ययनका लागि भारत जान लागेका एक हजार ८६९ किशोरीलाई सुरक्षित बसाइँसराइबारे अवगत गराइएको तथा किशोरी तथा महिला हराएको १७९ निवेदन परेकामा ५८ जना फेला परेको संस्थाले जनाएको छ । प्रहरी प्रशासनसँगको समन्वयमा मानव बेचबिखनका तीन तथा जबर्जस्ती करणीका पाँच मुद्दा दर्ता गरिएको थियो । 

शिशुको शव फेला 
झापाको बुद्धशान्ति गाउँपालिकामा मङ्गलबार सालनालसहित गाडिएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ । घाँस काट्न गएका स्थानीयवासीले बुद्धशान्ति गाउँपालिका–४ को सट्टाभर्नास्थित बारीमा पुरिएको अवस्थामा बच्चाको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । 
इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टीकाबहादुर कार्कीको नेतृत्वमा गएको टोलीले गाडेको स्थानबाट बच्चालाई निकालेको थियो । भर्खर जन्मिएको शिशु घाँटीमा सालनाल र नरिवलको पातको पासो लगाई हत्या गरेर गाडिएको अवस्थामा फेला परेको कार्कीले बताउनुभयो । “अभियुक्तको खोजी भइरहेको छ,” उहाँले भन्नुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस