टेबलमा आएर छलफल गर्न उत्तर कोरियालाई ट्रम्पको आह्वान

बुधबार, २२ कार्तिक २०७४, १३ : ०५
टेबलमा आएर छलफल गर्न उत्तर कोरियालाई ट्रम्पको आह्वान

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियालाई टेबलमा आएर छलफल गर्न आह्वान गरेका छन्। यसअघि निकै उत्तेजक भाषण गर्ने गरेका ट्रम्पले ईश्वरको नाम लिंदै अमेरिकी सेनाले प्योङयाङविरुद्ध सेना परिचालन गर्ने अवस्था नचाहेको बताएका छन्।

उत्तर कोरियाविरुद्ध भीषण आक्रमण गर्ने चेतावनी दिइसकेका ट्रम्पले एसिया भ्रमणका क्रममा दक्षिण कोरियामा आफ्ना समकक्षी मुन जे-इनसंगै एक पत्रकार सम्मेलनमा यस्तो आह्वान गरेका हुन् ।

ट्रम्प अहिले एसियाका पाँच देशको भ्रमणको क्रममा छन्। भ्रमणमा उत्तर कोरियाको परमाणु हतियारको महत्वाकांक्षा प्रमुख मुद्दा बनेको छ। दक्षिण कोरियाको पत्रकार सम्मेलनमा मुनले उत्तर कोरिया परमाणु हतियारविहीन बन्नु पर्नेमा जोड दिए।

ट्रम्पले चाहिँ उत्तर कोरिया “वार्ताको टेबलमा” उचित हुने बताए। उनले भने, “उत्तर कोरियाले आफ्नो लागि मात्रै होइन, मानव जाति र संसारकै लागि सही काम गर्नै पर्छ।” एसिया प्रसान्त क्षेत्रमा अमेरिकाको ठूलो सैनिक उपस्थिति छ। तर ट्रम्पले ईश्वरको नाम लिंदै भने, “त्यो सैनिक शक्ति उत्तर कोरियाविरुद्ध खटाउन नपरोस्।”
ट्रम्प र मुनले चीन र रुसलाई पनि प्योङयाङविरुद्ध दबाब बढाउन आग्रह गरे। दुबै मुलुकहरुले दक्षिण कोरियाली क्षेप्यास्त्रले बोक्ने भारमा लगाइएको सीमालाई खुकुलो बनाउने सहमति गरेका छन्।

ट्रम्पका अनुसार दक्षिण कोरियाले आउने दिनहरुमा “अरबौं डलर मूल्य पर्ने सैन्य उपकरण” खरिद गर्दैछ र त्यसबाट दुई देशबीचको व्यापार घाटा कम गर्न सहयोग पुग्नेछ। तर दुई पक्षबीच के कस्ता उपकरण किनबेच हुने हो त्यो प्रष्ट भइसकेको छैन।
मुनले दुई पक्षबीच किनबेचबारे वार्ताहरु हुने र त्यसको फलस्वरुप दक्षिण कोरियाको प्रतिरक्षा क्षमता झनै सबल बन्ने बताए। बीबीसीका सोलस्थित संवाददाता रोबिन ब्रान्ट् भन्छन्, ट्रम्पले दक्षिण कोरियामा २४ घण्टा बिताएका छन् तर त्यो बसाइले सांकेतिक रुपमा निकै महत्व राख्दछ ।

प्रतिक्रिया दिनुहोस