इजिप्टमा प्रहरी कारबाहीमा ४० जना आतङ्कवादी मारिए

एजेन्सी

शनिबार, १४ पुस २०७५, १९ : ४२
इजिप्टमा प्रहरी कारबाहीमा ४० जना आतङ्कवादी मारिए

इजिप्ट । पर्यटक बसमाथि शुक्रबार साँझ बमद्वारा आक्रमण गर्ने शंकास्पद ४० जना आतङ्ककारी इजिप्ट प्रहरीको कारबाहीमा शनिबार मारिएका छन् । आतङ्कवादी आक्रमणमा तीन जना भियतनामी पर्यटक र एक जना इजिप्टका पथप्रदर्शकको ज्यान गएको थियो । 

बसमा यात्रारत अरु ११ जना भियतनामी पर्यटक र बसका चालक घाइते भएको प्रहरीले जनाएको छ । 

प्रहरीले शंकास्पद स्थानहरुमा छापा मारेको थियो । इजिप्टका पिरामिडहरु रहेको गीजा शहर पर्यटकहरुका लागि आकर्षक भ्रमण स्थल हो । इजिप्टको गृह मन्त्रालयले गीजामा भएको प्रहरी कारबाहीमा ३० जना र उत्तरी सिनाईमा १० जना आतङ्ककारी मारिएको जनाएको छ । 

मन्त्रालयको विज्ञप्तिमा आतङ्ककारीहरुले सरकारी निकायहरु, पर्यटकीय संस्थाहरु र चर्चमा आक्रमण गर्ने योजना बनाएको उल्लेख छ । “राष्ट्रिय सुरक्षा निकायहरुले आतङ्कवादी हमला हुने सूचना पाएका थिए । उनीहरुको मुख्य निशाना पर्यटन, सशस्त्र बल, प्रहरी र इसाई समुदायका प्रार्थना स्थलहरु रहेका थिए ।” 

एउटा सुरक्षा स्रोतका अनुसार प्रहरीले शनिबार बिहानै छापा मारेको थियो । यद्यपी, बम आक्रमणको कसैले जिम्मेवारी लिएको छैन । पर्यटकमाथि लक्षित गरिएको सन् २०१७ पछिको यो पहिलो आक्रमण हो । 

पर्यटन व्यवसायी साइगोन टुरिस्टका अनुसार भियतनामी पर्यटकहरु साँझको खानाका लागि होटलतर्फ फर्कदै गर्दा आक्रमणमा परेका थिए । 

जुलाई २०१७ मा शंकास्पद जिहादीहरुले हुर्घादा भन्ने स्थानमा दुई जना जर्मन पर्यटकलाई छुरा प्रहार गरी हत्या गरेका थिए । 

त्यस्तै अक्टोबर २०१५ मा इस्लामिक स्टेट समूहसँग आबद्ध स्थानीय लडाकूको आक्रमणबाट सिनाई प्रायःद्वीपमा २२४ जना यात्रुको ज्यान गएको थियो ।  (रासस/एएफपी) 

प्रतिक्रिया दिनुहोस