चितवनमा विद्युत् महशुल नबुझाउनेमा सरकारी कार्यालय अगाडि

मंगलबार, १० पुस २०७५, १७ : ५३
चितवनमा विद्युत् महशुल नबुझाउनेमा सरकारी कार्यालय अगाडि

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको ३० करोड २५ रुपैयाँ विद्युत् बक्यौता उठ्न सकेको छैन । मंसिर महिनासम्म भरतपुर क्षेत्रका एक हजार ग्राहकबाट यो रकम उठ्न बाँकी रहेको हो ।
विद्युत् महशुल नबुझाउनेमध्ये सरकारी कार्यालयको रकम अधिक रहेको छ । जिल्ला प्रशासन कार्यालय चितवन, जुनियर प्रहरी अधिकृत शिक्षालय, जिल्ला प्रहरी कार्यालय चितवन र नापी कार्यालयबाट विद्युत महशुल असुली गर्न बाँकी छ । भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतोले अन्य सरकारी कार्यालयको बक्यौता रकम खुलाउन चाहानु भएन ।
स्रोतका अनुसार सरकारी कार्यालयहरुबाट ५० हजारदेखि ३ लाखसम्म बक्यौता उठ्न बाँकी छ । केन्द्रका अनुसार विद्युत् महशुल नबुझाउनेमा सबैभन्दा बढी चितवन सिँचाईको १ करोड २० लाख रुपैयाँ बक्यौता छ ।
बौक्यौता उठ्न बाँकी रहेका कार्यालयहरुलाई केन्द्रले बारम्बार पत्रचार गरेपनि बक्यौता भुक्तानी हुन सकेको छैन । विद्युत महशुल तिर्न बाँकी रहेका ग्राहकको ६० दिनमा लाईन काट्न पाउने अधिकार वितरण केन्द्रलाई छ । तर वितरण केन्द्रले लामो समयदेखि पत्रचार मात्रै गरेर बसिरहेको छ ।

केन्द्रका प्रमुख महतोका अनुसार कालोसुचीमा रहेका ९० जनाबाट ८० लाख रुपैयाँ उठ्न बाँकी छ । चालु आर्थिक बर्षको कात्तिक महिनासम्म विद्युत महशुल नबुझाउने ५ सय ७० जना सर्वसाधरणको लाईन काटेको कार्यालयको तथ्याङकमा उल्लेख छ । उनीहरुबाट ८१ लाख बक्यौता उठ्न बाँकी रहेकोमा ७१ लाख रुपैयाँ उठिसकेको कार्यालयले जनाएको छ । विद्युत् प्राधिकरण भरतपुरको गीतानगर, चनौली र माडीमा विद्युत महशुल संकलन काउण्टर रहेका छन् । भरतपुर वितरण केन्द्र अन्तरगत ८१ हजार ग्राहकहरु रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस