अमेरिकी रक्षा मन्त्री म्याटिसको अकस्मात्‌ राजीनामा किन ?

एजेन्सी

शुक्रबार, ०६ पुस २०७५, ०९ : ३०
अमेरिकी रक्षा मन्त्री म्याटिसको अकस्मात्‌ राजीनामा किन ?

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा मन्त्री जेम्स म्याटिस उच्च मूल्याङ्कनसहित आउँदो फेब्रुअरीको अन्त्यमा सेवानिवृत्त हुन लागेको घोषणा गरेका छन् ।

जनरल म्याटिसले मित्र शक्ति र अन्य देशहरूको सैन्य दायित्व निर्वाह गर्न आफूलाई धेरै सहयोग गरेको भनी राष्ट्रपति ट्रम्पले ट्वीट सन्देशमा उल्लेख गरेका छन् ।

म्याटिसको सेवा निवृत्त हुने ट्रम्पको सो घोषणा सिरियाबाट सबै अमेरिकी फौज फर्काउने उनको विवादित निर्णयको एक दिन पछाडि आएको हो ।

अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिस ट्रम्प प्रशासन भित्रका अधिकारीहरुले राजीनामा दिने सिलसिलाका हालसम्मका सबैभन्दा पछिल्ला अधिकारी बनेका छन् ।

निर्णय
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियाबाट अमेरिकी फौज फर्काउने घोषणा गरेको भोलि पल्टै अकस्मात् जनरल म्याटिसको त्यस्तो निर्णय बाहिर आएको हो ।

उनले म्याटिसको उत्तराधिकारीको नाम भने उल्लेख गरेनन् । तर चाँडै नै नियुक्ति प्रक्रिया अघि बढाउने बताए ।

आफ्नो राजीनामा पत्रमा जनरल म्याटिसले आफ्ना मित्र शक्तिहरूसँग सम्मानपूर्वक व्यवहार गर्ने र साझा रक्षाका लागि अमेरिकी क्षमताका सम्पूर्ण संसाधन प्रयोग गर्ने धारणा व्यक्त गरेका छन् ।

राजीनामा पत्र
उनले राष्ट्रपति ट्रम्पसँग आफूभन्दा "राम्रो, क्षमतावान र विभिन्न विषयमा ट्रम्पका विचारसँग नजिक मान्छेलाई रक्षा मन्त्री चुन्न सक्ने" अधिकार भएकोले आफू सो पदबाट बाहिरिनु उपयुक्त लागेको व्यहोरा राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

बुधवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरिया र वरपर सक्रिय इस्लामिक स्टेट समूह आईएस् पराजित भएको भन्दै सिरियामा खटाइएका अमेरिकी फौजहरू फर्काउने घोषणा गरेका थिए ।

सर्वत्र निकै आलोचित सो घोषणाबारे त्यसो गर्नु अमेरिकाको रणनीतिक भूल हुने भनी रक्षा मन्त्री म्याटिसले चेतावनी दिएका थिए ।

अमेरिकी सैनिकहरूले आईएस् लडाकुहरूको पकड क्षेत्रबाहेकका उत्तर पूर्वी सिरियाको अधिकांश भूभाग इस्लामिक स्टेट समुहको कब्जाबाट अलग गर्न मद्दत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस