उम्मेदवारले चुनावमा के के शीर्षकमा कति रकम खर्च गर्न पाउने ?

बुधबार, २२ कार्तिक २०७४, ११ : २४
उम्मेदवारले चुनावमा के के शीर्षकमा कति रकम खर्च गर्न पाउने ?


चितवन । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारले गर्न पाउने खर्चको अधिकतम सीमा तोकिदिएको छ । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारले २५ लाख र प्रदेश सभा सदस्य पदका उम्मेदवारले १५ लाख रुपैयाँसम्म खर्च गर्न पाउँछन् । समानुपातिक सूचीमा रहेका उम्मेदवारमध्ये प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारले दुई लाख र प्रदेश सभा सदस्य पदका उम्मेदवारले एक लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्नेछन् ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्षतर्फ) मतदाता नामावली खरिदमा प्रतिनिधि सभा सदस्य उम्मेदवारले तीन हजार र प्रदेश सभा सदस्य उम्मेदवारले एक हजार आठ सय खर्च गर्न पाउँछन् । सवारी साधनतर्फ क्रमशः पाँच लाख र तीन लाख रुपैयाँ खर्च गर्न पाइन्छ । सवारी इन्धन शीर्षकमा प्रतिनिधि सभा सदस्य उम्मेदवारले एक लाख र प्रदेश सभा सदस्य उम्मेदवारले ६० हजार खर्च गर्न पाउँछन् । प्रचार प्रसार सामग्री र विज्ञापनमा पनि यत्ति नै रकम खर्च गर्न पाउने व्यवस्था छ ।

ढुवानीमा क्रमशः ७५ हजार र ४५ हजार, गोष्ठी, अन्तरक्रियामा आठ लाख र चार लाख ८० हजार, कार्यालय सञ्चालनका लागि पाँच लाख र तीन लाख, प्रतिनिधि परिचालनमा दुई लाख र एक लाख २० हजार एवं विविधमा एक लाख २२ हजार र ७३ हजार दुई सय रुपैयाँ खर्च गर्न पाउने व्यवस्था निर्वाचन आयोगले गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस