नोहपेन्ह । कम्बोडियाका भन्सार अधिकारीहरुले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलब २ टन भन्दा बढी हात्तीको दाह्रा बरामद भएको जनाएका छन् । कम्बोडियामा बरामद गरिएको अफ्रिकी हात्तीको दाह्रा आजसम्मकै यो सबैभन्दा बढी हो ।
नोमपेन्ह स्वायत्त बन्दरगाहमा बिहीबार एक हजार २६ थान हात्तीका दाह्रा फेला परेका थिए । विगत केही समयदेखि नै कम्बोडियालाई अर्बौं डलरको वन्यजन्तुको अबैध चोरीशिकारी हुने पारवहन मुलुकका रुपमा हेर्ने गरिन्थ्यो ।
भन्सार विभागका निर्देशक सन छ्याएले हात्तीको बहुमूल्य दाह्रा त्यसै छाडिएको कन्टेनरभित्र फेला परेको बताउनुभयो ।उहाँले उक्त कन्टेनर गत वर्ष नै दक्षिण अफ्रिकी देश मोजाम्बिकबाट आएको जानकारी दिनुभयो । पहिचान नखुलेको उक्त कन्टेनरका मालिक हालसम्म सम्पर्कमा नआएको उहाँले बताउनुभयो ।
सन छ्याएले उक्त सामग्री अरु मुलुक पठाउन यहाँको बन्दरगाह प्रयोग गरिएको हुनसक्ने बताउनुभयो । चीन र भियतनाममा बढ्दो मागका कारण तस्करहरुले वन्यजन्तुका आखेटोपहार ढुवानी गर्न कम्बोडियाको मार्ग प्रयोग हुने गरेको छ ।
कम्बोडियाको कमजोर कानुनी व्यवस्था एवं भ्रष्टाचारका कारण वन्यजन्तुको तस्करी बढेको छ, खासगरी छिमेकी मुलुक थाइल्यान्डले उक्त प्रतिबन्धित व्यापारमाथि कडाई गरेपछि तस्करहरु कम्बोडियातर्फ आकर्षित भएको पाइएको छ । (रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०१ पुस २०७५, १३ : ००
लेखकबाट थप