कोइला खानीमा बाढी पस्यो, १३ जना मजदूरको मृत्यु भएको आशङ्का

एजेन्सी

शुक्रबार, २८ मंसिर २०७५, १४ : ३७
कोइला खानीमा बाढी पस्यो, १३ जना मजदूरको मृत्यु भएको आशङ्का

फाईल फोटो

नयाँ दिल्ली । उत्तरपूर्वी भारतको मेघालय राज्यमा अवैध रुपमा सञ्चालन हुँदै आएको एक कोइला खानीमा बाढी पसेपछि कम्तीमा १३ जना कामदार बेपत्ता भएका छन् । 

खानीको अत्यन्त साँघुरो सुरुङमा बाढी पसेका कारण कामदारहरु भित्रै थुनिएकाले उनीहरु सबैको मृत्यु हुन सक्ने आशङ्का गरिएको छ । 

दर्जनांै अरु कामदारले बाढीको पानी फाल्न कोसिस गरिरहेका छन् । मेघालय राज्यमा भएको वर्षापछि बिहीबार बिहान सबेरै खानीमा पानी पसेको थियो । खानीमा बेपत्ता भएकाहरुको खोजी र उद्धार कार्य जारी रहेको स्थानीय प्रहरी अधिकारी लेथिन्द्रा सङ्गमाले जानकारी दिनुभयो । 

भारतको एक अदालतले सन् २०१४ पछि सो इलाकामा कोइला खानी खोल्नको लागि प्रतिबन्ध लगाएको थियो । वातावरणकर्मीहरुले पानी दूषित हुनुको प्रमुख कारण नै यी कोइला खानीहरु रहेको भन्दै खानीमा प्रतिबन्ध लगाउन माग गरिरहेका थिए । 

सरकारी प्रतिबन्धका बाबजूद त्यस इलाकामा अबैध रुपमा अव्यवस्थित कोइला खानी सञ्चालन हुनेक्रम जारी रहेको सरकारी अधिकारीको भनाइ छ । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस