नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकाअन्र्तगत नदीजन्य पदार्थको सङ्कलनमा देखिएको कानूनी जटिलता अन्त्य भएको छैन । नदी तथा खोलाबाट निर्माण सामग्री सङ्कलनका लागि गाउँपालिकाले पहिलोपटक प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आइइई) तयारपछि यो अवस्थाको अन्त्य भएको हो ।
यसअघि जिल्लामा नदी तथा खोलाबाट निर्माण सामग्री सङ्कलनका लागि तत्कालीन जिल्ला विकास समितिले ठेक्का सञ्चालन गर्दै आएको थियो । स्थानीय तह स्थापनापछि गाउँपालिकाले पहिलोपटक बालुवा र ग्राभेल सङ्कलनका लागि ठेक्का सञ्चालन गर्न लागेको हो ।
काठमाडौँस्थित आदि कन्सल्टले गाउँपालिकाको आइइई तयार पारेको हो । गाउँपालिकाअन्तर्गत राप्ती नदी र डुडुवा खोलाबाट वार्षिकरुपमा कूल ६७ हजार ५०० घन मिटर ग्राभेल र बालुवा सङ्कलन गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनमा गाउँपालिकाको वडा नं २, ३, ४ र ५ को रमपुरवा, कटैहिया, दासपुरवा, सिधनिया घाट र खजुरा गौढीबाट र डुडुवा खोलाअन्तर्गत गाउँपालिकाको वडा नं १ र ३ को खडैचा र पिप्रहवाबाट बालुवा सङ्कलन गर्न क्षेत्रफल प्रस्ताव गरिएको वातावरणविज्ञ अन्नत कार्कीले बताउनुभयो । उहाँका अनुसार यो प्रतिवेदनको वैधानिकता आइइई स्वीकृत भएको दुई वर्षसम्म बालुवा सङ्कलन गर्न सकिनेछ ।
आठ हजार क्विन्टल धान खरीद
नेपाल खाद्य संस्थान अञ्चल कार्यालय नेपालगञ्जले यस वर्षको हालसम्म आठ हजार क्विन्टल धान खरीद गरेको छ । संस्थानले गत मङ्सिर १० गतेदेखि नेपालगञ्ज कारकाँदोस्थित संस्थानको खरीद केन्द्रबाट धान खरीद गरिरहेको छ । संस्थानले यो वर्ष २५ हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य निर्धारण गरेको अञ्चल प्रमुख हरिप्रसाद जोशीले बताउनुभयो ।
मोटा धान प्रतिक्विन्टल दुई हजार ३३१ रुपैयाँ २२ पैसा र मध्यम धान प्रतिक्विन्टल दुई हजार ४६० रुपैयाँ ५७ पैसामा खरीद भइरहेको उहाँले बताउनुभयो । धान बिक्री गर्न आउने किसानले नागरिकता र लालपूर्जाको प्रतिलिपि प्रमाणपत्र अनिवार्य लिएर आउनुपर्ने प्रावधान पनि राखिएको छ । धान खरीद गर्दा पल्लेदारी खर्च संस्थानले नै बेहोर्ने प्रमुख जोशीले बताउनुभयो ।
लक्ष्य पूरा नहुँदासम्म धान खरीद प्रक्रिया निरन्तर चलिरहने छ भने संस्थानले खरीद गरेको धान कुटानी गरेर दैलेख, सुर्खेत र कालिकोटलगायतका जिल्लामा चामल पठाउने बताइएको छ ।
नेपालगञ्जमा सरसफाइ महाअभियान
नेपालगञ्ज उपमहानगरपालिका र नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा नेपालगञ्जमा भोलिदेखि सरसफाइ महाअभियान शुरु हुँदैछ । महाअभियानमा सहभागी हुने व्यक्तिले छ मिटरको क्षेत्र सफा गर्नुपर्नेछ ।
प्रत्येक वडा कार्यपालिकाले आफ्नो वडाका सङ्घसंस्थालाई परिचालन गरी वडा सफा गर्नुपर्ने महाअभियानको उद्देश्य रहेको उपमहानगरका सूचना अधिकारी शरद पौडेलले बताउनुभयो ।
महाअभियानका क्रममा नेपालगञ्जको राँझाचोकदेखि नेपालगञ्ज बजारका विभिन्न चोक तथा अन्य २० स्थानमा सरसफाइ गरिनेछ । महाअभियानमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, स्थानीय तह, विद्यालय, नेपाल प्रहरीलगायतको सहभागिता हुने सूचना अधिकारी पौडेलले बताउनुभयो ।
नेपालगञ्जमा सञ्चालित एकीकृत शहरी विकास आयोजनाले सरसफाइ तथा फोहरमैला व्यवस्थापनसम्बन्धी जनचेतना तालीम दिन थालेको छ । परियोजना कार्यान्वयन एकाइले नेपालगञ्जमा सामुदायिक विकास कार्यक्रमअन्तर्गत जनचेतना तालीम दिन लागेको हो ।
पहिलो चरणमा नेपालगञ्ज उपमहानगरपालिकाको १८ वटा वडामा स्थानीयका लागि एक÷एक दिनको टोल बस्तीस्तरीय सरसफाइ तथा फोहरमैला व्यवस्थापनसम्बन्धी जनचेतना तालीम दिइनेछ ।
बिहीबार वडा नं २३ का वडावासीलाई तालीम दिइएको छ । मदन झा, राजन श्रेष्ठ र डा जनार्दन आचार्यले सहभागीलाई प्रशिक्षण दिनुभएको थियो । तालीम शुभारम्भका अवसरमा नगर प्रमुख डा धवलशम्शेर राणाले नागरिकको सहभागिता र सहयोगले मात्र नेपालगञ्जलाई फोहरमुक्त बनाउन सकिने बताउनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस