ठिनी । थासाङ गाउँपालिका–२ कोवाङको छोङगुमा जङ्गली जनावर मार्न पासो थाप्दै गरेको अवस्थामा एक शिकारी थलामै पक्राउ परेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमको नेतृत्वमा गएको गस्ती टोलीले साढे दुई किलो जङ्गली जनावरको मासु, दुई थान पासो र खुकुरीसहित शिकारीलाई पक्राउ गरेको हो ।
तीन हजार ५०० मिटर उचाइको जङ्गलमा मासु पकाउँदै र पासो थाप्दै गरेको अवस्थामा रोल्पाका ५७ वर्षीय मोहनबहादुर मगरलाई मङ्गलबार पक्राउ गरिएको कार्यालयले जनाएको छ ।
मासुको परीक्षण र थप अनुसन्धानका लागि मगरलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको पोखरास्थित कार्यालयमा पठाइने प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो ।
कोवाङको जङ्गलमा पछिल्लो समय जङ्गली जनावर र पक्षीको चोरी शिकार बढेपछि प्रहरी र एक्यापका कर्मचारीसहित गस्तीमा जाने क्रममा रङ्गेहात शिकारी पक्राउ गर्न सफल भएको संरक्षण क्षेत्र व्यवस्थापन समिति कोवाङका अध्यक्ष जीवन थकालीले बताउनुभयो ।
थकालीका अनुसार मगरको साथबाट बरामद गरिएको मासु कस्तुरी मृग र घोरलको हुनसक्ने अनुमान गरिएको छ । डेढ किलो पकाएको र एक किलो काँचो मासु बरामद भएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस