गर्भमै बच्चाको मृत्यु भएपछि हेलिकप्टरबाट गर्भवतीको उद्धार

सोमबार, २४ मंसिर २०७५, १६ : २१
गर्भमै बच्चाको मृत्यु भएपछि हेलिकप्टरबाट गर्भवतीको उद्धार

जाजरकोट । सुत्केरी हुन नसकेर गर्भमै बच्चाको मृत्यु भएपछि एक महिलाको जीवन बचाउन हेलिकप्टरबाट उद्धार गरिएको छ । 
बारेकोट गाउँपालिका–२ रोकायगाउँकी ४२ वर्षीया मैसरी थापाको आज दिउँसो उद्धार गरिएको हो । लिम्सास्थित स्वास्थ्य चौकीले सुत्केरी हुने मिति मङ्सिर ८ गते तोकेको थियो । तोकेको मितिमा बच्चा नजन्मेपछि मङ्सिर २३ गते लिम्लास्थित स्वास्थ्य चौकीमा ल्याएर जाँच गर्दा बच्चा पेटमै मृत्यु भएको पाइएको थियो । 

गर्भमै बच्चाको मृत्यु भएपछि थापाको जीवन बचाउनका लागि बारेकोट गाउँपालिकाको समन्वय र घरआँगन संस्थाको आर्थिक सहयोगमा उनलाई हेलिकप्टरमा लिम्साबाट पोखराको मनिपाल अस्पताल भर्ना गरिएको संस्थाका दीपक सिलवालले जानकारी दिनुभयो । थापा पाँचौँ पटक सुत्केरी हुँदै थिइन् । दुई चिकित्सकको दरबन्दी भएपनि लिम्सा स्वास्थ्य चौकी अहिले चिकित्सकबिहीन छ । चिकित्सक नहुँदा उपचारका लागि यहाँका बासिन्दा अन्यत्र जानुपरेको स्थानीयवासी कालीप्रसाद थापाले बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस