यी हुन् घरबाट भागेर आउने जोडीको पाँच मिनेटमै बिहे गराइदिने पुजारी

आइतबार, १६ मंसिर २०७५, १४ : ५६
यी हुन् घरबाट भागेर आउने जोडीको पाँच मिनेटमै बिहे गराइदिने पुजारी

नारायणगढ: नारायणी नदी किनारमा रहेको हरिहर मन्दिर विवाहका लागि प्रख्यात छ । यस मन्दिरमा लगनको समयमा विवाहका लागि ठाँउ पाउन पनि मुस्किल नै हुन्छ । मन्दिर अगाडि एक दर्जन पार्टी प्यालेसहरु छन् । छिटो छरितो र कम खर्चमा विवाह सम्पन्न गर्न सकिने हुँदा मन्दिरमा विवाहका लागि आउनेहरुको संख्या ठुलो नै छ ।
तर यस बाहेक मन्दिरमा पाँच मिनेटमै सकिने विवाह गर्नेको संख्या पनि धेरै रहेको मन्दिरका पुजारी रोहित शर्माले बताए ।
मन्दिरमा पाँच मिनेटमा विवाह गर्न आउनेहरु भागी विवाह गर्ने रहेको पुजारी शर्माले बताए । पुजारी शर्माका अनुसार बुवाआमाको सहमति बिना विवाह गरेपछि सिन्दुर र पोतेमात्र लिएर विवाहका लागि बरबधु आउने गर्दछन् ।
शर्मा भन्छन्,‘आफन्त र विवाह सामाग्री नभएपछि पाँच मिनेट पनि बढी हुन्छ । समय कम छ भनेपछि हामीले पनि पाँच मिनेटभन्दा कम समयमै विवाह सम्पन्न गरिदिन्छौँ ।’ उनीहरुको अनुरोधमा हामीले भनेको समयमै विवाह गर्ने सकिदिने गरेको बताए । सिन्दुर मात्र हाल्न बाँकी छ भन्दै आउँछन् । दुई चार ओटा मन्त्र भनेर सिन्दुर र पोते लगाएपछि विवाह समापन गरिदिने गरेका छौ,उनले सुनाए ।
लगनको परेको दिनमा १५ वटासम्म विवाह सम्पन्न गरेको मन्दिरका मुख्य पुजारीसमेत रहेका शर्मा बताउँछन् ।
एक बर्षको अवधीमा सय भन्दा बढी जोडीहरु पाँच मिनेटमै विवाह गराईदिएको उनी बताउँछन् । नारायगढको पुलचोक नजिकै रहेको मन्दिरमा चितवन, नवलपरासी, गोरखा, रुपन्देही लगाएतका ठाँउबाट पाँच मिनेटे विवाह गर्न आउनेहरु छन् ।
पछिल्लो २ बर्षदेखि यस्ता विवाह गर्ने ट्रेण्ड बढ्दै गएको पुजारी शर्माले जानकारी दिए । आधुनिकता, बढदो सामाजिक सञ्जालको प्रयोगले गर्दा यस्ता विवाह गर्नेको संख्या बढ्दै गएको उनी बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस