काठमाडौँमा फेरि अपहरणपछि बालकको हत्या

विहीबार, १३ मंसिर २०७५, १७ : ०३
काठमाडौँमा फेरि अपहरणपछि बालकको हत्या

काठमाडौँमा फेरि एक बालकको अपहरणपछि हत्या भएको छ।  बालाजुका ८ वर्षीय प्रयास कुँवरको अपहरणपछि हत्या भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए।

सिंहका अनुसार कुँवरको घरमा चालकको काम गर्ने महेन्द्र सार्कीले मंगलबार साँझ प्रयासको अपहरण गरेका थिए। प्रयासका बुवाको गोंगबुमा होटल छ। सार्की त्यही होटलको गाडी चलाउँथे।

‘म्हैपीको पुलनजिक बोरामा हालेर फालिएको अवस्थामा बालकको शव भेटिएको छ,’ एसएसपी सिंहले भने,‘उनलाई अपहरण गरी हत्या गरेको अभियोगमा हामीले एकजनालाई पक्राउ गरेका छौं।’

प्रहरीको अनुसन्धानबाट उनले त्यही दिन हत्या गरेको खुलेको छ। ‘गाडी चलाउनेले अपहरण गरेर हत्या गरेको रैछ। उनलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको छ,’ सिंहले भने।

यसअघि गत साउनमा काठमाडौंको मनहराका ११ वर्षीय निशान खड्काको पनि अपहरणपछि हत्या भएको थियो।

प्रतिक्रिया दिनुहोस