मंगल ग्रहमा 'इनसाइट' यानको सफल अवतरणपछि खुसीयाली

एजेन्सी

मंगलबार, ११ मंसिर २०७५, १० : ३९
मंगल ग्रहमा 'इनसाइट' यानको सफल अवतरणपछि खुसीयाली

बीबीसी । अमेरिकी अन्तरिक्ष निकाय नासाले पहिलो पटक मंगल ग्रहको भित्री भागसम्म अनुसन्धान गर्न एक अन्तरिक्ष यान सफलतापूर्वक अवतरण गराएको जनाएको छ ।

'इनसाइट' नाम दिइएको अन्तरिक्ष यानले निकै जोखिमपूर्वक रातो ग्रहको वायुमण्डलभित्र प्रवेश गरेको थियो। अवतरण गर्नुअघि त्यो यान प्रतिघन्टा २० हजार किलोमिटरसम्मको गतिमा अघि बढेको थियो  ।

सो रोबोट जडित यानको सहायताले मंगल ग्रहको भित्री भागको अध्ययन गर्ने योजना छ । त्यो सफल भएमा मंगल ग्रह, पृथ्वीपछि त्यस्तो अध्ययन गरिने दोस्रो ग्रह हुनेछ ।

'इनसाइट' रोबोट ग्रेनिच समयानुसार १९:५३ मा रातो ग्रहमा ओर्लिएको थियो। त्यो सफलताले चिन्ताजनक प्रतीक्षाको अन्त्य गराएको थियो जसमा रोबोटले जानकारीहरू श्रंखलाबद्ध रूपमा वैज्ञानिकहरुलाई प्रसारण गरिरहेको थियो ।

खुसीयाली

नासाका वैज्ञानिक
मंगल ग्रहमा इनसाइट सफलतापूर्वक अवतरण गरेको र त्यो ठिकठाक रहेको पुष्टि भएपछि क्यालिफोर्नियास्थित नासाको प्रयोगशालामा वैज्ञानिकहरूले खुसीयाली व्यक्त गरेका थिए ।

'इनसाइट'का परियोजना प्रमुख टम होफम्यानले अन्तरिक्ष यान अवतरण गर्ने बेला आफ्नो सासै रोकिएला जस्तो भान भएको प्रतिक्रिया दिए ।

"यो एकदमै अविश्वसनीय रूपमा भावुक बनाउने क्षण थियो। म र यहाँ भएका हामी सबैजसो व्यक्तिले सात वर्षदेखि यो काममा लागिरहेका छौँ। 'इनसाइट' अवतरण गर्ने सात मिनेटको अवधिमा त मेरो मुटु नै रोकिए जस्तो भयो ।"

अवतरण भएलगत्तै त्यो अन्तरिक्ष यानले मंगलग्रहको सतहको आफ्नो पहिलो तस्बिर पठाइसकेको छ। तस्बिरमा मंगल ग्रहको अव्यवस्थित भूबनौट देखिएको थियो ।

उपकरण
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वैज्ञानिकहरूलाई बधाई दिएको बताइएको छ । 'इन्साइट' रोबोट यतिबेला मंगल ग्रहको भूमध्यरेखा नजिक रहेको फराकिलो समथर भूभाग एलिसियम प्लानिसियामा रहेको बताइएको छ ।

अवतरण गर्नु अघि इनसाइट २० हजार किलोमिटर प्रतिघन्टा सम्मको गतिमा उडेको थियो । त्यो यान प्यारासुट र रेट्रो रकेटको सहयताले उत्रिएको थियो। त्यसमा भूकम्प र जमिनमुनीको तापक्रम नाप्ने कैयौँ युरोपेली उपकरणहरू समेत रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस