चितवन । चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले रेडियोबाट बढीमा एक मिनेटसम्मको प्रचार सामग्री दिनमा चार पटकभन्दा बढी बजाउन नपाइने बताएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार निर्वाचन आचार संहिताबारे चितवनका सञ्चारकर्मीबीचको छलफलमा यस्तो बताएका हुन् ।
‘निर्वाचन आचार संहिता २०७२ को दफा ५ ख १ मा प्रचार प्रसारमा सञ्चारमाध्यमको प्रयोग गर्दा पालना गर्नुपर्ने आचरण उल्लेख छ’ मुख्य निर्वाचन अधिकृत शर्माले भने, ‘राजनीतिक दलले टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा चौबीस घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन पाउनेछन् । त्योभन्दा बढी समय कोही कसैले सञ्चारमाध्यमबाट प्रचार प्रसार गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिनेछ ।’
राजनीतिक दलले पत्रपत्रिकाको माध्यमबाट प्रचार प्रसार गर्दा प्रत्येक दिन बढीमा सात इन्च लम्बाई र सात इन्च नै चौडाइ सम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सक्ने निर्वाचन आचार संहितामा उल्लेख छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारले पनि योभन्दा बढी समय वा ठूलो आकारमा विज्ञापन प्रसारण वा प्रकासन गर्न पाउने छैनन् ।
आचार संहिताको दफा ४ ज १ ले उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित ज्याकेट, कमिज, टिसर्ट, टोपी, गम्छा वा अन्य कुनै पनि किसिमको पहिरन वा स्टीकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री गन वा प्रदर्शन गर्न वा गराउन नहुने उल्लेख छ ।
‘केन्द्रमा दलहरुले नै निर्माण गरेको आचार संहिता जिल्लामा कसैले पनि उल्लंघन नगर्नुहोस्’ मुख्य निर्वाचन अधिकृत शर्माले भने, ‘चितवनप्रति स्वदेशी तथा विदेशी चासो छ । आचार संहिता उल्लंघनबारे अनुगमन गर्नेछौँ । लिखित वा मौखिक उजुरी पनि लिनेछौँ । आचार संहिता उल्लंघन गरेको पाइएमा निर्वाचन कानुन अनुसार कारबाही प्रकृया अघि बढाउँछौँ ।’
रेडियो र टेलिभिजनमा एक मिनेटसम्मको विज्ञापन एक दिनमा दैनिक चार पटकभन्दा बढी बजाउन नपाइने व्यवस्थाले गर्दा रेडियोको चरम दुरुपयोग गर्ने सोच बनाएका उम्मेदवारलाई समस्या पर्ने भएको छ । आचार संहिता उल्लंघन गरेमा कानुनी कारबाहीको भागी हुनुपर्ने भएकोले आचार संहिता पालना गर्नैपर्ने बाध्यता रहेको छ । निर्वाचन क्षेत्र नम्बर एकका निर्वाचन अधिकृत परमेश्वर पराजुलीले आचार संहिता उल्लंघन गर्नु निर्वाचन कसुर भएकोले सजाय हुने बताए ।
निर्वाचन क्षेत्र नम्बर तीनका निर्वाचन अधिकृत शम्भु रेग्मीले सकारात्मक सूचना प्रवाहबाट स्वतन्त्र, भयरहित र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सहयोग पुग्ने बताए । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले आचार संहिता पालना भए, नभएको विषयमा समाचार सम्प्रेषण गरेर सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गरे । उनले राजनीतिक दल र उम्मेदवारहरुलाई आचार संहिता पालनाको लागि अनुरोध गरिने बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले निर्वाचनमा तीन घेराको सुरक्षा रहने बताए । उनले पहिलो घेरामा प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना रहने जानकारी दिए । कार्यक्रममा चितवन जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष गोपीलाल देवकोटा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, जिल्ला अध्यक्ष राधेश्याम खतिवडा, जिल्ला सल्लाहकार सूर्यप्रकाश कँडेल लगायतले बोलेका थिए ।
प्रतिक्रिया दिनुहोस