अफगान सुरक्षाफौजको बढ्दो मृत्युदरले सैनिक सँख्यामा कमि, नयाँ भर्ना लिन डराए युवाहरु

एजेन्सी

शुक्रबार, ०७ मंसिर २०७५, १४ : ११
अफगान सुरक्षाफौजको बढ्दो मृत्युदरले सैनिक सँख्यामा कमि, नयाँ भर्ना लिन डराए युवाहरु

काबुल  । तालिबानी लडाकूसँगको भिडन्तमा अनगिन्ती साथीहरु गुमाएसँगै अफगानी सुरक्षाकर्मीहरु सेवाबाट पलायन हुन थालेका छन् । अझ, कतिपय सैनिकको तलब सेनाका उच्च अधिकारीले नदिएको उनीहरुको गुनासो छ । अफगानी सेनामा कार्यरत बेग मात्र होइन त्यस्तो सोचाईमा धेरै अफगानी सेना पुगेको पाइएको छ । 

विगत १७ वर्षदेखिको हिंसात्मक द्वन्द्वमा तालिबानले एकपछि अर्को सफलता प्राप्त गर्नुका साथै अफगानी सेनाको मृत्युको संख्या पछिल्लो समय एकाएक ह्वात्तै बढेको छ । 

सन् २०१५ देखि मुलुकको सुरक्षा जिम्मेवारी पाएको अफगानी सेना र प्रहरीका झण्डै ३० हजारको मृत्यु भइसकेको छ । अफगान राष्ट्रपति अस्ररफ घानीले हालैमात्र सार्वजनिक गर्नुभएको यस तथ्यले सरकार र विद्रोही पक्षमा भएको हताहत हुने ठूलो संख्या देखाएको छ । 

अर्थात् दैनिक करिब २० अफगान सैनिकको मृत्यु भइरहेको छ । “यहीक्रमले अफगानी सेनाको मृत्यु भइरहने हो भने नयाँ भर्ना हुने व्यक्ति नै फेला पार्न कठिन छ,” सैनिक विश्लेषक अतिकुल्लाह अमरखाइलले बताउनुभयो । 

भयावह मृत्युदरले पहिल्यै कमजोर रहेको फौजको मनोबल अझ खस्केको छ । सन् २०१८ को तेस्रो चौमासिकमा करिब ९ हजार सैनिक कटौती भएको छ, र सैनिक परिचालनको कूल संख्या तीन लाख १२ हजार मात्र भएको छ । 

सैनिक कटौती हुनुको प्रमुख कारण बढ्दो चोटपटक र घर बिदामा गएकाहरु नफर्किनु रहेको बताइएको छ । अफगानी सैनिक बेग पनि घर बिदाबाट काममा नफर्केका एक जना हुन् । 

“लडाइँमा दिनहुँ ५ देखि १० जना साथी गुमाएको देखेको छु” २६ वर्षीय बेगले बताए । उनी उत्तर प्रान्त जोजानमा खटिएका थिए । “मेरो युनिटमा तालिबानले दुईपटक आक्रमण गरेका थिए, तर इश्वरको कृपाले मात्र बाँच्न सफल भएँ । अब त फेरि त्यहाँ जान्नँ । म अब गाउँमै फर्किएर श्रमिक काम गर्नेछु,” उनी भन्छन् । 

एक विवरण अनुसार सन् २०१५ मा मात्र पाँच हजार अफगान सैनिक मारिएका थिए । युद्धमा कठिन हुने देखिएपछि सन् २०१७ यता सरकारले मृत्यु भएका सेनाको विवरण सार्वजनिक गर्न बन्द गरेको छ । अमेरिकी संस्था सिगारलाई अफगानिस्तानमा तैनाथ नेटोले दिएको विवरणमा विगतभन्दा परिस्थिति अझ विकराल बनेको उल्लेख छ । 

एकजना २४ वर्षीय सैनिक आशीकुल्लाह भन्छन्, “हरेक दिन हाम्रा साथीहरु मरिरहेका छन् । हामीसँग राम्रा उपकरण पनि छैनन् । त्यही कारण धेरै साथीहरुले सैनिक सेवा छाडेका छन् वा मारिएका छन् ।” 

मृत्यु हुने र घाइते हुनेक्रम बढेसँगै अफगानिस्तानका कतिपय क्षेत्रमा नयाँ भर्ना गर्न कठिन भएको छ, गृहमन्त्रालयका भर्ना प्रमुख मोहम्मद दाउदले स्वीकार गर्नुभयो । नाम नबताउने शर्तमा एक जना अधिकारीले भने– उत्तरी प्रान्त बाल्खको प्रहरी भर्ना केन्द्रमा झण्डै ८० प्रतिशतले कमी आएको छ । 

तर जलालाबाद राजधानी रहेको नान्गरहरको एक केन्द्रले भने भर्ना हुन चाहनेको संख्या बढी रहेको जनाएको छ । रक्षा मन्त्रालयका प्रवक्ता जावद अहमद गफोरले सेनामा भर्ना हुन चाहनेको संख्यामा कुनै कमी नआएको दाबी गर्नुभयो । 

नान्गरहरमा भेटिएका २४ वर्षीय फज्लुल्लाहले आफू मुलुकको सुरक्षाका लागि प्रतिबद्ध रहेको र सेनामा भर्ना हुन चाहेको बताए । 

अफगान र अमेरिकी सैनिकले भने विद्रोही लडाकूतर्फ पनि ठूलो क्षति भएको बताएका छन् । तर जतिसुकै लडाकू मारिए पनि लडाइँमा कुनै कमी आएको छैन । 

“उनीहरुले हरेक रात आक्रमण गरिरहेकै छन्,” घाज्नीका २९ वर्षीय एकजना प्रहरी अधिकारी इनायातुल्लाहले बताउनुभयो । बारुदी सुरुङ विस्फोटमा उनी दुईपटक घाइते भइसकेका छन् । “केही दिनभित्रै मेरो जागिर सकिँदैछ र म फेरि भर्ना हुन्न ।” (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस