दमौली । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले देवघाटको धार्मिक र पुरातात्विक महत्वलाई जोगाउनुपर्नेमा जोड दिनुभएको छ ।
तनहुँ देवघाट गाउँपालिकास्थित धार्मिक तथा ऐतिहासिक स्थलहरुको आज स्थलगत अवलोकन भ्रमणका क्रममा उहाँले भन्नुभयो, “देवघाट नेपालमा मात्र नभई विदेशमा समेत प्रख्यात रहेकाले यसको महत्वलाई जोगाएर यस क्षेत्रको समग्र विकास गर्न सक्नुपर्छ ।”
मन्त्री गुरुङले देवघाटधामलाई धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउनुपर्नेमा जोड दिदैं यसको संरक्षण तथा प्रवद्र्धनमा प्रदेश सरकार प्रतिबद्ध छ भन्नुभयो ।
तनहुँ, चितवन र नवलपरासीको सङ्गमस्थलमा रहेको यो ठाउँ प्राकृतिक, सांस्कृतिक तथा धार्मिक सम्पदाले भरिपूर्ण रहेको उल्लेख गर्दै उहाँले देवघाटदेखि मुक्तिनाथ जोड्ने शालिकराम कोरिडोरलाई शीघ्र सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
“यो मार्गलाई समयमै सम्पन्न गर्न सकिए पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्नेछ”, उहाँले भन्नुभयो ।
यसअघि मन्त्री गुरुङले महेश आश्रम, मणिमुकुन्दसेन पार्क, गुरुकुल आश्रम, चक्रवर्ती मन्दिर, देवघाट सार्वजनिक पुस्तकालय लगायतको स्थलगत अबलोकन भ्रमण गर्नुभएको थियो ।
गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले तनहुँ, चितवन र नवलपरासीका स्थानीय तहको समन्वयमा यस क्षेत्रको धार्मिक पर्यटन गुरुयोजना बनाउने तयारी भइरहेको बताउँदै त्यो गुरुयोजनालाई दातृ निकाय, प्रदेश सरकार, सङ्घीय सरकार र निजी व्यवसायको साझेदारीमा कार्यान्वयन गरिने बताउनुभयो । रासस
प्रतिक्रिया दिनुहोस