भवन तथा निर्माणसम्बन्धी प्रदर्शनी शुरु

विहीबार, ०६ मंसिर २०७५, १३ : ५६
भवन तथा निर्माणसम्बन्धी प्रदर्शनी शुरु

काठमाडौँ । एकै छातामुनि भवन तथा निर्माणसम्बन्धी सम्पूर्ण जानकारी दिने उद्देश्यले राजधानीमा ‘भवन तथा निर्माण प्रदर्शनी २०७५’ को आयोजना गरिएको छ । 

युथ कम्युनिटी फर नेप्लिज कन्ट्र्याक्टर (वाइसिएनसी) को आयोजनामा भृकुटीमण्डपमा आजदेखि शुरु भएको मेलामा भवन तथा निर्माणमा आवश्यक पर्ने सम्पूर्ण सामग्रीबारेमा जानकारी प्रदान गरिने वाइसिएनसीका कोषाध्यक्ष राजु फुयाँलले जानकारी दिनुभयो । 

मेलामा भवन तथा निर्माणसम्बन्धी आवश्यक सामग्री सिमेन्ट, छड, फर्निचर, टायल, पाइपलगायत भूकम्पप्रतिरोधी भवन निर्माण गर्न आवश्यक सामग्री पनि प्रदर्शनीमा राखिएको छ । 

भूकम्पपछि थुप्रै निजी आवास निर्माणका क्रममा रहेकाले सर्वसाधारण जनताले एकै छातामुनि निर्माणसम्बन्धी सम्पूर्ण जानकारी पाउने उद्देश्यले मेलाको आयोजना गरिएको कोषाध्यक्ष फुयाँलले बताउनुभयो । अवलोकनकर्ताका मेला अवधिभर इञ्जिनीयरबाट निःशुल्क भवन निर्माणसम्बन्धी परामर्शसमेत दिइने आयोजकले बताएका छन् । 

मेलाको शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले उद्घाटन गर्नुभएको हो । मेला यही मङ्सिर ९ गतेसम्म चल्नेछ ।  (रासस)

प्रतिक्रिया दिनुहोस