आत्मघाती आक्रमणको अमेरिकाद्धारा निन्दा

एजेन्सी

बुधबार, ०५ मंसिर २०७५, १४ : ३३
आत्मघाती आक्रमणको अमेरिकाद्धारा निन्दा

संयुक्तराज्य अमेरिका । अफगानिस्तानको काबुलमा मङ्गलबार भएको आत्मघाती आक्रमणको अमेरिकाले निन्दा एवं भत्र्सना गरेको छ । 
यस आक्रमणमा परी कम्तीमा ५० जनाको मृत्यु हुनुको साथै कैयांै व्यक्ति घाइते भएका थिए । मुसलमानहरुका धर्मगुरु मोहमदको जन्मदिवसको उपलक्ष्यमा भेला भएका व्यक्तिहरुलाई लक्षित गरी यो आक्रमण भएको थियो । 
अमेरिकाले यस आक्रमणमा ज्यान गुमाएका व्यक्तिका परिवारजनलाई समवेदना व्यक्त गरेको छ । विस्फोट गराइएको समयमा सो स्थानमा करिब एक हजार मानिसहरू भेला भएका प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ । 
अफगानिस्तानमा तालिबान तथा इस्लामिक स्टेट्स लडाकू समूहले नियमितजसो बम हमलाहरू गर्दै आएका छन् । यसअघि गत नोभेम्बर १२ का दिन प्रहरी चौकीनजिकै भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा १० जनाको ज्यान गएको थियो । 
अफगानी तालिबान समूहसँग शान्तिवार्ताको पहल भइरहे पनि अफगानिस्तानमा आतङ्ककारी आक्रमणमा कुनै कमी आएको छैन । 

केही दिन अगाडि मात्र अफगान तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादले खाडी राष्ट्र कतारमा वार्ता गर्नुभएको थियो । 

कतारमा भएको वार्ताका बारेमा कुनै सन्दर्भ उल्लेख नगरी अमेरिकी दूत खलिलजादले काबुलमा वार्तामा बस्न चाहने सबै अफगानी समूहसँग छलफल गरिरहेको पत्रकारसँग भन्नु भएको थियो । अहिले मेलमिलाप र शान्तिको अवसर आएको पनि उहाँले प्रष्ट पार्नु भएको थियो । 

अमेरिकी नेतृत्वको फौजले तालिबान सत्ता अपदस्थ गरेको १७ वर्ष पूरा भइसकेको छ, तर अहिले अफगानिस्तानको झण्डै आधा भाग तालिबान विद्रोहीको नियन्त्रणमा छ । तालिबानले गरेका स्थानीय सुरक्षा फौज र सरकारी अधिकारीमाथिको आक्रमणका कारण दिनहुँ ठूलो संख्यामा हताहत भइरहेको छ । (रासस/एएनआई)

प्रतिक्रिया दिनुहोस