६ दिनपछि तेह्रथुममा भेटिए चितवनबाट हराएका सुदिप

शनिबार, ०१ मंसिर २०७५, १५ : ५४
६ दिनपछि तेह्रथुममा भेटिए चितवनबाट हराएका सुदिप

चितवन । विगत ६ दिनदेखि बेपत्ता भएका चितवनको कालिका नगरपालिका वडा नं ६ बाग्लुङ्गेटोलका २४ वर्षीय सुदिप सापकोटा तेह्रथुमको एक होटलमा भेटिएका छन् । सापकोटा आज दिउसो करिव ३ः३० बजे सो होटलमा फेला परेका हुन् । उनको साथमा एउटा कालो ब्याग समेत रहेको प्रहरीले जनाएको छ । उनी अहिले तेह्रथुम प्रहरीको नियन्त्रणमा रहेका छन् ।
नारायणगढ बजारमा सामान खरीद गरी पुलचोकबाट कार्तिक २६ गते सोमबार करिव बेलुका ५ बजेको समयमा उनी म्याजिक चढी क्याम्पस गेटतर्फ आएका थिए । त्यहाबाट उनी हराएको परिवारजनले बताएको थियो । भारतको दिल्ली स्थित कलेजबाट कम्प्युटर इन्जिनियर पास गरेका भनिएका सुदिपको आगामी मंसिर ४ गते अष्ट्रेलिया जाने विद्यार्थी भिसा समेत लागि टिकट समेत लिइसकेको उनका बुबा गंगा प्रसाद सापकोटाले बताएका थिए । 

गत सोमबारबाट हराएका सुदिपलाई प्रहरीले मोबाइलको आइएमइआइ नम्बरको आधारमा पत्ता लगाएको इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी एवम् घटनाका अनुसन्धान अधिकृत दयानिधि ज्ञवालीले बताए । सुदिपले मोबाइलमा प्रयोग भएको नेपाल टेलिकम र एनसेलको सिम प्रयोग नगरी सोही मोबाइलबाट इन्टरनेट चलाएको देखिएको थियो । उनले ब्लु हेभन गेष्ट हाउसको नाममा रहेको वाइफाइबाट मोबाइल चलाएको थाहा पाएपछि प्रहरीले देशैभरका होटलहरुमा अनुसन्धान र खोजतलाश गरेको थियो । उनले सुविसुको नेट चलाएको अनुसन्धानबाट देखिएको डिएसपी ज्ञवालीले बताए ।

डिएसपी ज्ञवालीले सापकोटाले अष्ट्रेलिया जानका लागी तयार पारेको डकुमेन्ट फेक भएको बताएका छन् । सुदिपले आफ्नै ल्यापटपबाट सबै नक्कली डकुमेण्टहरु आफैले बनाएको भेटिएको छ । दुतावासमा पेश गरिएका भनिएका कागजपत्रहरु र भिसा समेत नक्कली भएको डिएसपी ज्ञवालीले बताए । यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको समेत उनले बताए । उनले आफ्नो ल्यापटप भने साथमा नलगी घरमा नै छाडेको पाइएको थियो ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनले विशेष अनुसन्धान टोली गठन गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (प्रहरी उपरीक्षक) शुशिल सिंह राठौरले जानकारी दिए । सो घटनाको प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञवालीको कमाण्डमा आइटी विज्ञ र म्यानुअल विज्ञ सहितको विशेष टोली गठन गरिएको थियो, उनले भने । आइटी विज्ञहरुले उनको मोबाइल र इन्टरनेट प्रयोगको सम्बन्धमा अनुसन्धान गरेको थियो भने म्यानुअल टोलीले खोलानाला, जंगल क्षेत्रमा सर्च तथा अनुसन्धान गरेको उनले बताए । अन्य थप टोलीले सडक, होटल लगायतका विभिन्न स्थानमा अनुसन्धान एवम् खोजी कार्य गरेको थियो । अनुसन्धान टोलीको नेतृत्व गरेका प्रहरी नायव उपरीक्षक सहितको टोलीले अनुसन्धान छिटो र सकुशल रुपमा गरेको समेत एसपी राठौरले बताए ।

जिल्लामा दैनिकजसो यस्ता घटनाहरु भएपनि सुदिप घटनामा जिल्लाको ७ सय १४ जना प्रहरी नै खटिएको थियो भने देशैभरका प्रहरीहरु एवम् सीमा क्षेत्रका प्रहरीहरुलाई समेत विशेष सतर्क रहन अनुरोध गरिएको थियो ।
हराएका भनिएका सुदिप भेटिएको खबर पाएपछि छोरालाई लिनको लागि बुबा गंगा प्रसादसहित आफन्तहरु तेह्रथुम तर्फ गएको उनका बुबा गंगा प्रसाद सापकोटाले बताए ।  
 

प्रतिक्रिया दिनुहोस