– शिशिर सिंखडा
चितवन । पूर्वी चितवनको कालिकानगरपालिका वडा नं. ६ बाग्लुङ्गेटोलका एक युवक ४ दिनदेखि बेपत्ता भएका छन् । २४ वर्षीय सुदिप सापकोटा गत २६ गते सोमबार विदेश यात्राको लागि आवश्यक सामान खरीद गरी फर्कने क्रममा उनी घर नआइपुगेको उनका बुब ागंगा प्रसाद सापकोटाले बताए ।
नारायणगढ बजारमा सामान खरीद गरी पुलचोकबाट करिव बेलुका ५ बजेको समयमा छोरा म्याजिक गाडी चढी क्याम्पस गेटतर्फ गएको र आफू नारायणगढबाट मोटरसाइकलमा गौरीगञ्ज जाने काम भएकोले गएको उनले बताए । क्याम्पसगेटमा म्याजिकबाट छोरा ओर्लिएको जानकारी पाए पनि उनी अहिलेसम्म कहाँ छन्, थाहा हुन नसकेको उनले बताए । भारतको दिल्ली स्थित कलेजबाट कम्प्युटर इन्जिनियर पास गरेका सुदिपको आगामी मंसिर ४ गते अष्ट्रेलिया जाने विद्यार्थी भिसा समेत लागि टिकट समेत लिइसकेको र छोरा अचानक बेपत्ताहुँदा परिवारमा रुवा बासी चलेको छ । उनले गत असोज ३ गते प्रेमिका सरिना पोखरेलसँग विवाह समेत गरेका थिए ।
परिवारका २ छोरा मध्ये जेठा छोरा बेपत्ता हुँदा सापकोटा परिवारमात्र होइन स्थानीयहरु समेत अचम्मित भएका छन् । छोराको कुनै त्यस्तो बेपत्ता हुनुपर्ने कारण नभएको भन्दै सुदिपको आमा सिता देवी सापकोटाले छोराको खोजी गरिदिन सबैसँग आग्रह समेत गरेकी छन् ।
बेपत्ता भएका सुदिपको मोबाइलमा ब्याट्रीको चार्ज कम रहेको र सामान किनेर फर्कने क्रममा मोबाइल भरतपुर क्षेत्रमै स्वीच अफ भएको हुन सक्ने उनका बुबा गंगा सापकोटाले बताए । त्यसपछि आफू गौरीगञ्जबाट फर्किएर घर आउँदासम्म छोरा घर नआई पुग्दा अचम्मित भएको उनले बताए । त्यसपछि उनले प्रहरीलाई खबर गरी स्थानीयहरु सहित जंगल क्षेत्र हुँदै भरतपुर एवम् नारायणगढ क्षेत्र छोरा खोज्न गएको उनले बताए ।
खोजीकार्य तीव्र पारेका छौं – डिएसपी ज्ञवाली
घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धानका साथसाथै खोजीकार्य समेत गरिरहेको जिल्लाप्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) दयानिधि ज्ञवालीले जानकारी दिए । प्रहरीले सुदिपको टेलिफोनको कल डिटेल लिएको र थप अनुसन्धान गरिरहेको उनले बताए । साथै जनपथ प्रहरी, सशस्त्रप्रहरी र स्थानीयहरुले भोजाड पदमपुर खण्डको जंगल क्षेत्रमापनि दैनिक रुपमा खोज तलास एवम् सर्च अभियान गरेको समेत उनले बताए ।
स्थानीय युवक सुदिप सापकोटा बेपत्ता भएपछि उनको गाउँघरमा समेत सन्नाटा छाएको छ । स्थानीयहरु दैनिक उनको घरमा जम्माहुने, जिल्ला प्रहरी कार्यालयमा गई घटनाको बारेमा जानकारी लिने र जंगल क्षेत्रमा खोजी कार्यमा समेत जुटेका छन् । घटनाको सन्दर्भमा चितवनका क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेल, प्रदेश सभाका सांसद घनश्याम दाहालले पनि चासो दिइ जिल्लाप्रहरी कार्यालय चितवनमा पुगी घटनाको बारेमा यथार्थ पत्ता लगाई खोजी कार्य तीव्र बनाउन प्रशासनलाई अनुरोध समेत गरेका छन् । विभिन्न व्यक्ति तथा संघ संस्थाद्वारा सामाजिक सञ्जालमार्फत बेपत्ता सुदिप सापकोटाको खोजी गरिदिन भन्दै आग्रह समेत गरेका छन् । साथै देख्नु हुनेले सम्पर्क गराइ दिनुहुन अनुरोध गर्दै सयौं फेसबुक प्रयोगकर्ताहरुले आ–आफ्नो फेसबुकमापोस्ट तथा शेयर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस