काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको बौद्धिक सम्पत्ति सम्बन्धी कानुनलाई सरकारले नयाँ ढङ्गबाट अगाडि बढाउने तयारी भएको बताएका छन् । शनिवार काठमाडौँमा ‘बौद्धिक सम्पत्ति दिवस’को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् ।
उनले विश्वव्यापी बौद्धिक सम्पत्तिको सन्दर्भमा नेपालमा नयाँ कानुन आवश्यक भएको बताए । उनले नेपाली मौलिकतासँग जोडिएका विषयहरूलाई लिपिबद्ध गरी पेटेन्ट राइटलाई सुरक्षित गर्ने गरी कानुन निर्माण प्रक्रियामा सरकार लागेको बताए । उनले समितिमा छलफलमा रहेको बौद्धिक सम्पत्तिसम्बन्धी कानुन छिट्टै मन्त्रिपरिषद्मा निर्णय गराएर संसदमा प्रवेश गराउने तयारीमा लागेको बताए ।
पेटेन्ट राइटबारे अहिले भइरहेको कानुनले सम्बन्धित विषयमा आएका उजुरीका विषयमा मात्रै अल्झाइरहेको उनको भनाइ छ । उनले नेपालभन्दा पछाडि परेका कतिपय देशहरू पेटेन्ट राइट सुरक्षित गरेकै कारण विश्व बजारबाट फाइदा लिएर अघि बढ्न सकेको बताए । बौद्धिक सम्पत्तिसम्बन्धी नेपालको कानुनलाई व्यवसायी र सरकारको फरक बुझाइ तथा न्यायालयले गर्ने फरक व्याख्याका कारण पनि समस्या भएको उनको भनाइ छ ।
उनले भने, ‘व्यवसायीले एक किसिमले, सरकारले एक किसिमले र न्यायालयले एक किसिमले त्यसलाई चिन्ने बुझ्ने कुराले कानुनमा दुबिधा भयो । त्यसैले हामी अहिलेको परिवेशमा नेपालको बौद्धिक कानुन औद्योगिक सम्पत्ति कानुनलाई नयाँ किसिमबाट अगाडि बढाउन चाहन्छौँ । र अहिले क्याबिनेट समितिमा लामै छलफल भएर अझ त्यसभित्र पनि उपसमिति बनाएर चाँडै क्याबिनेटमा निर्णय गराएर संसदमा प्रवेश गराउँछौँ ताकि त्यसले त्यो क्षेत्रको समस्यालाई निराकरण गर्न सकोस् ।
उनले थप भने, ‘हामीले आएका उजुरीहरूलाई मात्रै थेग्नुपर्ने, अल्झिरहनुपर्ने भएन । आजको यो विश्व बौद्धिक सम्पत्ति दिवसको अवसरमा नेपालका उद्योगीहरू व्यवसायीहरू वा हाम्रा मौलिकतासँग जोडिएका कतिपय सन्दर्भहरूलाई कसरी लिपिबद्ध गर्न सक्छौँ कसरी व्यवस्थित गर्न सक्छौँ, हाम्रो पेटेन्ट डिजाइनलगायतको क्षेत्रमा यसरी विस्तार गर्न सक्छौँ भन्ने खालको एउटा सङ्कल्प नयाँ उद्घोषका साथमा हामीले त्यो इच्छाशक्तिका साथमा अगाडि बढ्न पर्ने छ । ताकि हामी भन्दा पनि पछाडि परेका देशहरूले जसरी फड्को मारेका छन् हामीले हाम्रो पेटेन्ट हो भन्ने अनुभूत गराउने खालको गरी त्यसको विकास गर्नु जरुरी छ ।
मन्त्री भण्डारीले पुर्खाले सिर्जना गरेका कतिपय बौद्धिक सम्पत्तिको नाममा संस्था खोलेर त्यसको परिचय दिए पनि पेटेन्ट राइट सुरक्षित गर्न कसैको ध्यान जान नसकेको बताए । उनले विदेशीको डिजाइन र पेटेन्टलाई नक्कल गरेर वस्तु बजारमा पठाउँदा आफ्नै आविष्कार, डिजाइन तथा उत्पादनमा पछि परेको बताए । उनले पेटेन्ट राइटका लागि पुर्खाले छोडेर गएका अनेकौँ संस्कृतिसँग जोडिएका विषय वस्तु भएको बताए । कतिपय पेटेन्ट राइटका विषयहरू दर्ता गरेर त्यसको नवीकरण नगर्दा समस्या देखिएको उनको भनाइ छ ।
उनले भने, ‘अहिले पनि उद्योग विभागमा हेर्ने हो भने पेटेन्ट र डिजाइन धेरै विषयहरूमा मुद्दाका थुप्रै चाङहरू लागेका छन् । हामीले के गर्याै भने कसैको पेटेन्टमा हामीले त्यसैमा आफ्नो सम्पत्ति जस्तो नक्कल गरेर हाम्रो वस्तुलाई बजारमा दिइरहेका छौँ । त्यो हामीसँग आविष्कार गर्ने कुराको, त्यसको डिजाइन गर्ने कुराको त्यसको पेटेन्ट राइटको कुरामा हामी किन पछाडि पर्यौँ त हामी यो विषयमा औद्योगिक सम्पत्ति सम्बन्धीको कानुनलाई मन्त्रालय र विभागको तर्फबाट अलि बढी महत्वका साथ सरोकारवालाहरूसँग निकै धेरै छलफल बहस विज्ञहरूलाई सम्मिलित गरेर मन्त्रालयले त्यसको तयारी गरेको छ । यसमा थुप्रै प्रविधि पक्षहरू पनि छन् ।’
भण्डारीले भने, ‘अहिलेको कानुनले के कुरा बोल्छ ? के गर्न आवश्यक छ ? हामीले निवेदन परेका उजुरीमा फैसला गर्दै जाने त्यसैमा समय व्यतीत गर्ने कि ८२ वटामा मात्रै हाम्रो पेटेन्ट देखिन्छ । त्यसमा पनि नवीकरण नभएको देखिन्छ समयावधि तोकिएको छ, त्यसमा पनि हाम्रो ध्यान गएको छैन । एक पटक दर्ता गरौँ, नवीकरण गर्न सकेनौँ। कानुनले पनि नियन्त्रण गर्ने खालको मात्रै जस्तो दण्ड जरिवाना मात्रै भनेको छ । यसलाई अलि अब हामीले पनि हाम्रो पेटेन्टमा हाम्रो आविष्कारमा डिजाइन हाम्रो मौलिकतामा गर्न सक्छौँ । हाम्रा पनि थुप्रै मौलिक विषयहरू छन् । पुर्खाले गरेका थुप्रा विषयहरू छन् नि आज संस्कृतिसँग जोडिएको छ । हामीले सङ्घ संस्था खोलेर त्यसको आडेन्टिटी त दिएका छौँ तर त्यसको राइटको बारेमा पैरवी गर्ने संस्थागत प्रोत्साहित गर्ने गर्नुपर्ने थियो त्यो हुन सकेन ।’
मन्त्री भण्डारीले कुनै पनि विषय वस्तुलाई बौद्धिक सम्पत्तिको रुपमा विकास गर्न र पेटेन्ट राइटको सुरक्षा गर्न निजी क्षेत्रले आफ्नो उत्पादन तथा आविष्कारलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ बैशाख २०८२, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
रोजगारी सृजनामा सरकारकाे ध्यान केन्द्रित छ : मन्त्री भण्डारी
उद्योगमन्त्रीद्वारा बाढीले बगाएको ग्यास बुलेटको निरीक्षण