हमासलाई ध्वस्त पारेर बन्धक रिहाइ नगरेसम्म युद्ध जारी रहन्छ : नेतन्याहू

सफल खबर संवाददाता

आइतबार, ०७ बैशाख २०८२, ११ : ५७
हमासलाई ध्वस्त पारेर बन्धक रिहाइ नगरेसम्म युद्ध जारी रहन्छ : नेतन्याहू

गाजापट्टी ।  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा लडाईं जारी राख्नुको विकल्प नभएको बताएका छन् । हमासलाई पूरै ध्वस्त पारेर बन्धक बनाइएकाहरूलाई रिहा नगरिएसम्म अनि गाजाबाट इजरायललाई खतरा नरहेको सुनिश्चित नभएसम्म युद्ध जारी रहने शनिबार उनले बताएका हुन् ।

रानले कहिल्यै पनि आणविक हतियार नपाओस् भन्ने कुरा आफूले सुनिश्चित गर्ने पनि उनले दोहोर्‍याए ।  नेतान्याहूमाथि आफ्नै देशमा अनेकौँ स्तरमा दबाब बढिरहेको छ । गत महिना युद्धविराम भङ्ग भएपछि बन्धकका परिवार, उनीहरूका समर्थक र पूर्व इजरायली सैनिकहरूले युद्धको निरन्तरतामाथि प्रश्न उठाइरहेका छन् ।

इजरायलले युद्धविराम जारी राखे बापत हमासलाई आधा बन्धकहरूको रिहाइको प्रस्ताव गरेको थियो । तर हमासले पछिल्लो प्रस्ताव अस्वीकार गरेको छ ।

४८ घण्टामा ९० जनाको मृत्यु

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला ४८ घण्टामा इजरायलले  गरेको आक्रमणमा परेर ९० भन्दा बढीको मृत्यु भएको छ । अस्पतालका कर्मचारीका अनुसार रातभर इजरायली आक्रमणमा बालबालिका र महिलासहित १५ जनाको मृत्यु भएको छ ।

अस्पतालका कर्मचारीहरूका अनुसार दक्षिणी सहर खान युनिसमा कम्तीमा ११ जनाको मृत्यु भएको छ, जसमा धेरै जना मुवासी क्षेत्रको पालमा रहेका मानिस थिए । 

यसबाहेक रफाह शहरमा इजरायली आक्रमणमा अन्य चार जनाको मृत्यु भएको बताइएको छ । मारिनेमा आमा र छोरी पनि छन् । अल–अवदा अस्पतालका अनुसार शनिबारपछि इजरायलले मध्य गाजाको नुसेरातको पश्चिममा रहेको नागरिकहरूको समूहमाथि हवाई आक्रमण गरेको थियो । यस आक्रमणमा एक जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस