सिरहा । गत पुस ९ गते सिरहाको नवराजपुर गाउँपालिका-३ जगतपुरस्थित फूलबरिया मुसहरी टोलकी आनन्दीदेवी सदायमाथि गाउँकै दुई युवकद्वारा यौन दुर्व्यवहार भयो। माइतीघरमा बस्दै आएकी आनन्दीदेवी दुई वर्षीय दुधेबच्चा च्यापेर बरियारपट्टि गाउँपालिका–१ नरगीमा बस्ने दिदी लक्ष्मीनियादेवी सदायलाई भेट्न हिँडेकी थिइन् । बाटोमै स्थानीय २२ वर्षीय सञ्जीव यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले बलात्कारको प्रयास गरेको उनको आरोप थियो।
त्यहाँबाट जसोतसो उम्केर पुनः माइतमै फर्किन त सफल भइन् तर त्यस घटनाले बाँच्न भने दिएन । घटनाका दोषीमाथि कारबाहीको माग गरी किटानी जाहेरी दिए पनि चार महिनासम्म सदाय न्यायका लागि भौतारिइन् । मङ्गलबार माइतीघरमै झुन्डिएको अवस्थामा उनी मृत फेला परिन्।
'घटना घटेको दिन आफूमाथि जबर्जस्ती करणीको प्रयास भएको भन्दै रुँदै र कराउँदै घर आएकी थिइन्', मृतककी भाउजू विनीतादेवी सदायले उक्त दिनको घटनाबारे भनिन्, 'उनको कम्मरमुनि सुरुवालको भाग धुजाधुजा पारी च्यातिएको थियो । हातको पाखुरामा चोट लागेको थियो । जीउको विभिन्न भागमा दाँतले टोकेको स्पष्ट डोबहरू थिए।'
आनन्दीदेवीलाई जबर्जस्ती करणीको प्रयास गर्ने दुई व्यक्तिले सुरुमा पैसा दिन्छौँ भन्दै ललाईफकाई प्रयाससमेत गरेको उनको भनाइ छ । 'तीन हजार पैसा दिन्छौँ हामीसँग हिँड् भनेपछि नन्दले इन्कार गर्दै प्रतिकार गरेपछि श्यामले हातपात गर्दै घिसार्दै नजिकै रहेको परालको कुन्यूँमा लगे, अर्का पीडक सञ्जीवले मोबाइलबाट भिडियो खिचे । नन्दले यो कुरा मलाई सुनाउनुभएको थियो । उहाँ प्रतिकार गर्दै त्यहाँबाट उम्केर जसोतसो नन्द घर आइपुग्नुभयो, त्यतिबेला दिउँसोको करिब १ बजेको हुँदो हो', भाउजू विनीतादेवीले भनिन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०८२, ०९ : ३०
लेखकबाट थप