काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ को दोस्रो खेलमा आज बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच खेल हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।
शनिबार सुरु भएको एनएसएलको तेस्रो संस्करणमा ७ टोली सहभागी छन् । लिग चरणमा ६ खेल मात्र हुने भएकोले दुवै टोली विजयी सुरुवात गर्ने लक्ष्यमा हुनेछन् ।
एनएसएलमा गत संस्करण डेब्यु गरेको झापाले बुटवल लुम्बिनीलाई १-० ले हराएको थियो ।
बुटवल लुम्बिनीको कप्तानी मिडफिल्डर एरिक विष्टले गर्नेछन् । राष्ट्रिय टिमका अर्का मिडफिल्डर मनिष डाँगी बुटवलको मार्की प्लेअरमा छन् । उता राष्ट्रिय टिमकै मिडफिल्डर लकेन लिम्बु झापाको मार्की प्लेअर र कप्तानमा छन् । यस पटक लकेन सामु धेरै जिम्मेवारी छ ।
बुटवल लुम्बिनीमा मनिष र एरिकसँगै राष्ट्रिय टिमाका गोलकिपर दीप कार्की, सुमन श्रेष्ठ र विमल पाण्डे छन् । यस्तै राष्ट्रिय टिमबाट खेलेका युवा फरवार्ड निराजन धामी र राष्ट्रिय टिममा परेका अर्का गोलकिपर टिकेन्द्र थापा पनि यसै टिममा छन् ।
बुटवलमा राष्ट्रिय टिमको अनुभव लिएका आधा दर्जन खेलाडी छन् । यस्तै विदेशी खेलाडीहरमा पनि बुटवल लुम्बिनीमा राम्रो नामहरु छ । बुटवल लुम्बिनी यस सिजन विदेशी गोलकिपर अनुबन्ध नगर्ने एक्लो टोलीको रुपमा रहेको छ ।
बुटवल लुम्बिनीले विदेशी खेलाडीमा इंग्ल्याण्डका डिफेण्डरद्वय एडम मिटर र नाथन माभिला, जापानका मिडफिल्डर केन्टा होरा र स्कटिस मिडफिल्डर फ्रांक रोस, नाइजेरियन फरवार्ड इजेकेल तामारा र घानाका फरवार्ड फिलिपि अजालाई अनुबन्ध गरेको छ ।
उता झापा एफसीमा लकेनसँगै राष्ट्रिय टिमबाट खेल्ने डिफेण्डर छिरिङ लामा पनि छन् । झापाले यस पटक छिरिङलाई मात्र रिटेन गरेको थियो । यस्तै झापाले अक्सनमा लिएर गोलकिपर एन्जल श्रेष्ठ भर्खरै राष्ट्रिय टिममा परेका छन् । उनले डेब्यु गर्न बाँकी छ । गत वर्ष एन्जलले काठमाडौं रेजर्सबाट एनएसएल खेलेको थियो ।
यस बाहेक राष्ट्रिय टिमको अनुभव भएका डिफेण्डर आशिष गुरुङ पनि झापामा छन् । झापाबाटै खेलेका उज्वल राई पनि यस पटक झापामा छन् ।
झापाले नेपाली राष्ट्रिय टिमबाट डेब्यु गरिसकेका र हाल अष्ट्रेलियामा रहेका मिडफिल्डर ऋतिक खड्कालाई पनि अनुबन्ध गरेको छ । झापाले अमेरिकामा खेल्ने भुटनिज खेलाडी प्रविन बस्नेतलाई पनि अनुबन्ध गरेको छ र हङकङमा खेल्दै आएका नेपाली मिडफिल्डर आर्यन राईलाई पनि भित्र्याएको छ ।
यस बाहेक विदेशी खेलाडीले झापाले उज्वेकिस्तानका अजामात अब्दुलेभ र मुहम्मद इसाएभ, नाइजेरियाका फरवार्ड अल्हाजी गेरो, सर्वियन फरवार्ड लाजार अर्सिक र मोन्टेनेग्रोका किपर नेमान्जा लेमासिकलाई अनुबन्ध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ चैत्र २०८१, १० : १२
लेखकबाट थप