नक्कली प्रहरी बनेर गरगहना लुटे, बिक्री गर्न खोज्दा प्रहरीकै फन्दामा परे

सफल खबर संवाददाता

बुधबार, १३ चैत्र २०८१, १६ : १०
नक्कली प्रहरी बनेर गरगहना लुटे, बिक्री गर्न खोज्दा प्रहरीकै फन्दामा परे

काठमाडौं। आफूलाई प्रहरी हुँ भन्दै विभिन्न व्यक्तिका गरगहना लुटपाट गरेको आरोपमा काठमाडौंमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ४१ वर्षीय दिपेश लाल चित्रकार रहेका छन् ।

उनले लुटेका गरगहना स्वयम्भू आनन्दकुटी नजिकै बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले उनलाई पक्राउ गरेको हो ।प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले चित्रकारलाई कानून बमोजिम खानतलासी गर्दा उनको साथबाट बिल बिजकबिनाका विभिन्न गरगहना बरामद भएको प्रहरीले जनाएको छ । 

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, ललितपुर पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनको साथबाट पोतेसहितको सुनजस्तो देखिने धातु जडित नौगेडी माला ११ थान, पोतेसहितको सुनजस्तो देखिने धातु जडित सिङगल गेडी माला ७ थान, क्रिष्‍टलसहितको सुनको जस्तो देखिने माला १३ थान,  पोतेसहितको सुनजस्तो देखिने धातु जडित मंगलसुत्र ६ थान बरामद भएको प्रहरीले जनाएको छ । 

यसैगरी, पोतेसहितको सुनजस्तो देखिने धातु जडित सोली गेडी माला एक थान, पत्थरसहितको सुनको जस्तो देखिने धातु जडित टप ३ जोर, पोते नभएको सुनको जस्तो देखिने धातु जडित तिलहरी १ थान, सुनको जस्तो देखिने धातु जडित विभिन्न डिजाइनका क्लिप ९ थान, मोतीजस्तो देखिने पत्थरसहितको सुनको जस्तो देखिने धातु जडित ३ गेडी मोती माला ३ थान पनि बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोतीजस्तो देखिने मालासहितको सुनको जस्तो देखिने धातु जडित मोती लकेट माला १ थान, मोतीजस्तो देखिने पत्थरसहितको सुनजस्तो देखिने धातु जडित मोतीहार १ थान, सुनको जस्तो देखिने धातु जडित औंठी २४ थान, पत्थरसहितको सुनजस्तो देखिने धातुबाट बनेको स-साना फुली १९ थान र सुनको जस्तो देखिने धातु जडित स-साना गेडी ३ थान समेत बरामद भएको छ । 

प्रतिक्रिया दिनुहोस