मोरङमा आफू समर्थक उम्मेदवार हराउने ढकाललाई ओलीले भेटे

सफल खबर संवाददाता

आइतबार, १० चैत्र २०८१, १६ : ४४
मोरङमा आफू समर्थक उम्मेदवार हराउने ढकाललाई ओलीले भेटे

विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले मोरङका नेता विनोद ढकालसँग भेट गरेका छन् । कुनै समय ओलीको विश्वास पात्र मानिने ढकालसँग केही वर्ष यतादेखि ओलीको दुरी बढ्दै गएको थियो ।

एमालेको १०औं जिल्ला अधिवेशनमा अध्यक्ष ओलीले समर्थन गरेका उम्मेदवारलाई पराजित गराउन उनले सक्रिय भूमिका खेलका थिए । ढकाल समर्थकको प्यानललाई नै विजयी भएपछि ओलीले उनलाई बोलाएर भेटेका हुन् ।

गत २३ फागुनको चुनावी परिणाम घोषणापछि ओलीले ढकालसँग टेलिफोन संवाद गरेका थिए । जिल्ला समितिको पहिलो बैठकपछि काठमाडौं पुगेका ढकालले शुक्रबार बेलुका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन् ।ढकालले अध्यक्ष ओलीसँग भेट भएको बताए । ‘अस्ति बेलुका अध्यक्षज्यूसँग भेटघाट भयो,’ उनले भने,’ पार्टीका विषयमा कुराकानी भयो ।’

उनी निकट एक नेताका अनुसार ओलीलाई ढकालले आफूबारे गरिएको गलत ब्रिफिङका बारेमा जानकारी गराएका थिए । ‘कन्फ्युजन मेट्ने गरी उहाँहरूबीच छलफल भएको छ,’ ढकाल निकट एक नेताले भने ।

जिल्ला अधिवेशनमा अनपेक्षित नतिजा निकालेपछि ओलीले ढकाललाई स्पेस दिएको एमाले नेताहरू बताउँछन् ।गत २३ फागुनमा एमाले जिल्ला अधिवेशनमा अध्यक्ष ओलीले समर्थन गरेका राजकुमार ओझालाई पराजित गर्दै विनोद ढकालले समर्थन गरेका अजम्बर राई निर्वाचित भए ।एमाले मोरङको १०औं जिल्ला अधिवेशन नतिजाले ढकाललाई ओलीसँग पुग्ने आधार बनेको ढकाल निकट जिल्ला नेताहरू बताउँछन् ।

ढकालले यसअघि ६ असोज २०८० मा ओलीसँग भेट गरेका थिए । १२ असोज २०८० मा प्रदेश अधिवेशन सुरु हुनुअघि भएको उक्त भेटमा ओलीले उनलाई घनश्याम खतिवडालाई छाड्दिन भनेका थिए । तर ढकाल तयार भएनन् । अधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएका ढकाल पराजित भए । त्यसयता ढकाललाई ओलीले भेट दिएका थिएनन् । ओली पूर्व आउँदा ढकाल भने स्वागतका लागि पुग्ने गरेका थिए । प्रदेश अधिवेशन अघि र पछि ओली निवास बालकोटको ढोका ढकालका लागि बन्दजस्तै थियो ।

तत्कालीन एमालेमा माधवकुमार नेपालको टिम सशक्त हुँदा मोरङमा ढकाल ओलीको विश्वास पात्र थिए । पूर्वमा ओलीको गुट विस्तारमा पनि उनको भूमिका थियो । तर ओली शक्तिशाली भएपछि ढकाल किनारामा परेका थिए । शुक्रबारको भेटपछि भने ओली र ढकालको सम्बन्ध सुध्रिएको नेताहरू बताउँछन् ।