एमाले बैठकमा ओलीले उठाएका पाँच सवाल

सफल खबर संवाददाता

विहीबार, २० भदौ २०८१, १४ : १२
एमाले बैठकमा ओलीले उठाएका पाँच सवाल

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पोलिट्ब्यूरो बैठकमा केही महत्वपूर्ण सवालहरू उठाएका छन् ।महासचिव शंकर पोखरेलले पेश गरेको ‘एमाले निर्णायक शक्ति निर्माणको लागि वार्षिक कार्ययोजना’माथि सदस्यहरूले राखेका धारणा र प्रश्नको जवाफ दिँदै ओलीले गणतन्त्रविरुद्ध सडकमा ओर्लनुपर्नेदेखि अनुशासनहीनलाई पार्टीमा स्थान नरहेकोसम्मका विषय उठाए । 

उनले स्थानीय तहको उपनिर्वाचनबाट एमालेको शक्ति परीक्षण हुने, कांग्रेस–एमाले सरकार २०८४ सम्मै जाने र वापपन्थी एकता नहुने विषय पनि बैठकमा जोडदाररूपले उठाए ।ओलीले गणतन्त्रविरुद्ध गतिविधि भएको भन्दै यसलाई निस्तेज पार्न आन्दोलनका लागि तयार रहनुपर्ने बताए । ‘गणतन्त्रलाई कमजोर पार्ने गतिविधि हुन थालेका छन् । यसलाई निस्तेज गर्नुपर्छ,’ ओलीले बैठकमा भने, ‘यसको लागि अभियान नै थाल्नुपर्ने हुनसक्छ ।

जनतालाई उतार्नुपर्ने हुन सक्छ । हामी सरकार र सदनमा त छौं नै सडक पनि छोड्दैनौं । म जोड दिएर भन्छु गणतन्त्रको रक्षाको लागि आन्दोलन गर्न सडकमै ओर्लनुपर्ने हुन सक्छ, तयार हुनुहोला ।’एमाले जग र जरा भएको पार्टी भएकोले कसैसामु नझुक्ने उनले बताए । एमाले जनताको पक्षमा सशक्त भएर उभिने उनको भनाइ थियो । 

समाजमा दल र समूह विशेषका नाममा अराजकता मच्चाउनेहरू सक्रिय भएको भन्दै ओलीले यसलाई पनि निस्तेज पार्ने बताएका थिए । ‘समाजमा अराजकता बढाउने काम भएको छ । हामी यसलाई निस्तेज पार्नेगरी काम गर्छौं,’ ओेलीले भनेका थिए, ‘किनकी नागरिक सर्वोच्चतामा विश्वास गर्ने हामीहरू विधिको शासन मान्छौं लोकतन्त्रको पक्षमा छौं ।’

त्यस्तै ओलीले यसअघि अभ्यास गरेर कामकाजी नभएको वामपन्थी एकताको पक्षमा नलाग्ने पनि प्रष्ट्याएका छन् । ‘अध्यक्षले वामपन्थीको नाममा कुनै मोर्चा नबन्ने र बन्ने सम्भावना नभएको बताउनुभएको छ,’ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘वामपन्थीबीच मोर्चा र एकतातिर हामी हेरेका पनि छैनौं भन्ने अध्यक्षको कुरा छ ।’ 

बरु एमालेले एक्लै चुनाव लड्ने निर्णय गरिसकेको गौतमले बताए । ‘कांग्रेसले एक्लै चुनाव लड्यो अनि एमालेले पनि पनि यही भन्यो भन्ने होइन । किनकी हामी त यस अघिदेखि नै एक्लाएक्लै चुनाव लड्नुपर्छ भन्दै आयौं । अर्कोतिर गठबन्धन हुँदा पनि हामीले एक्लै चुनाव लडेका हौं,’ ओलीले बैठकमा भनेका थिए, ‘हामी जनताको वैशाखी लिएर चुनाव लड्छौं ।’

एक्लै चुनाव लडेर एमालेले आफ्नो शक्ति के हो भनेर मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा देखाउने पनि ओलीले प्रष्ट्याएका छन् । यसअघि इलाम र बझाङमा उपनिर्वाचनमा एमालेले शक्ति देखाइसकेकोले मंसिरको निर्वाचनमा नतिजा देखाउने बताएको छ । तर, एक्लै चुनाव लड्ने सन्देशले कांग्रेससँगको सत्ता समीकरण तलमाथि नहुने पनि एमालेले प्रष्ट्याएको छ । 

‘आपसी प्रतिस्पर्धी पार्टी भए पनि कांग्रेस र एमालेको सरकार विशेष परिस्थितिमा बनेको हो । यसलाई राजनीतिक स्थायित्य दिने, अर्थतन्त्रलाई सुधार गर्ने, जनतालाई आशावादी बनाउने, संविधान संशोधन गर्ने कार्यभार रहेको छ,’ ओलीले बैठकमा भनेका थिए, ‘यसैले हामी यी काम गर्दै कांग्रेस एमालेको सरकारलाई अर्को चुनावसम्म निरन्तरता दिने  र परिणामुखी बनाउने काममा निरन्तर अग्रसर हुन्छौं । दुई दलबीच भएको सात बुँदे सहमतिलाई कार्यान्वयन गरेर जान्छौं ।’ 

गत असार ३० सरकार बनेयता अर्थतन्त्रमा लयमा फर्कन थालेको, टीआरसी विधेयक अगाडि बढेर शान्ति प्रक्रिया टुंगिने दिशामा अगाडि बढेको, व्यापारी र व्यवसायी उत्साही हुन थालेको भन्दै सुशासनको पक्षमा सरकार अझै प्रभावकारी बन्नुपर्ने पनि एमालेले सुझाएको छ । 

एमाले बैठकमा ओलीले उठाएको अर्को गम्भीर सवाल पार्टी अनुशासनको भएको स्थायी समिति सदस्य कर्ण थापाले जानकारी दिए । पार्टीमा अनुशासन, आचरण विपरीतका कदम हुन थालेपछि यसमा शुद्धता चाहिन्छ भन्नुभएको हो । किनकी पार्टीका नेता र कार्यकर्ताको आचरणमा शुद्धता भएन भने पार्टी पार्टीजस्तो हुँदैन । यसैले प्रमाणसहित विषय ल्याएर कारबाही गरिन्छ भन्नुभएको हो,’ थापाले भने, ‘उहाँले पार्टी ढल होइन कि राजनीति गर कि इन्जोय गर भन्नुको मतलब आचरणहीन नबन, नैतिकवान बन्नुपर्छ भनेको हो ।’

प्रतिक्रिया दिनुहोस