काठमाडौं। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विपक्षी दलले सरकारका हरेक कामको विरोध गर्ने गरेको आरोप लगाएका छन् । विपक्षीले विरोध गर्ने कुराको कुनै औषधि नरहेको उनले टिप्पणी गरे ।
राष्ट्रियसभाको आइतबार बसेको बैठकमा ‘सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’माथि उठेका प्रश्नको जवाफ दिने क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री विपक्षीले सानो निहुँमा पनि विरोध गरिराख्ने गरेको जनाउन २०२५/०२६ सालतिर कास्कीको पोखरामा रहेको पीएन क्याम्पसमा पढ्ने विद्यार्थीको किस्सा सुनाए ।
२०२५/०२६ सालमा पीएन क्याम्पसमा पढ्न विभिन्न अञ्चलबाट विद्यार्थी आउँथे । होस्टेलमा बस्ने विद्यार्थीले त्यही नजिकको पोखरा होटलमा खाना खाने रहेछन् । ती मध्येका एक जना विद्यार्थीले खाना खाएर चुठ्ने बेलामा एउटा न एउटा दोष दिने– कहिले खाना गिलो, कहिले साह्रो । कहिले नुन नलागेको, कहिले चर्को । कहिले दाल बाक्लो र कहिले पातलो ।
ती विद्यार्थीको किचकिचबाट दिक्क भएको होटलवाला साहु र विद्यार्थीले एक दिन उसले दोष लगाउन नपाउने गरी खाना बनाउने सल्लाह गरेछन् । पिरो पनि नहोस्, गिलो पनि नहोस्, नुन लागेको होस् ।
त्यसदिन पनि खाना खाइसकेपछि दोष लगाउने कुनै ठाउँ नपाएपछि त्यो विद्यार्थीले भनेछ– ‘एकढिक्का बढी हालेको भए आज पनि चर्को हुन्थ्यो ।’
यो किस्सा सुनाएर मन्त्री गुरुङले सरकारले ल्याएका अध्यादेशको विरोध गर्नु र दोष लगाइराख्नु प्रतिपक्षको धर्म रहेको र यसको ओखती नभएको टिप्पणी गरे ।
‘आनी छोइङ डोल्माको गीत फूलको आँखामा फूलै संसार, काँडाको आखामा काँडै संसार भनेजस्तै सरकारले यो सबै फूल देखेका छौं । तपाईंहरूले काँडा मात्र देख्नु भएको छ,’ मन्त्री गुरुङले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० चैत्र २०८१, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यसअघिको सरकारले मुलुकलाई अस्तव्यस्त बनाउने काम गर्योः सञ्चारमन्त्री
सार्वजनिक सेवा प्रशारण संस्थाहरु चाकडी गर्ने संस्थाको रुपमा विकास भयो : सञ्चारमन्त्री
राज्यले गरेको अनुसन्धानलाई प्रभावित गर्ने काम उचित होइन : सञ्चारमन्त्री
बीआरआई अनुदानमा लिने पक्षमा सरकार छः सञ्चारमन्त्री गुरुङ
जनताको समस्याप्रति सरकार गम्भीर छ : सञ्चारमन्त्री गुरुङ
समाजको विविधतालाई बचाई राख्न भाषागत समाचार जरुरी छ : मन्त्री गुरुङ