लुम्बिनीलाई हराएसँगै बलियो बन्यो आर्मीको फाइनल सम्भावना

सफल खबर संवाददाता

आइतबार, १० चैत्र २०८१, १६ : २३
लुम्बिनीलाई हराएसँगै बलियो बन्यो आर्मीको फाइनल सम्भावना

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले फाइनल सम्भावना बलियो बनाएको छ। आइतबार रुपन्देहीको सिद्धार्थनगरमा भएको खेलमा लुम्बिनी प्रदेशलाई १३१ रनले पराजित गर्दै आर्मी फाइनल नजिक पुगेको हो।

जितसँगै आर्मीले ८ खेलबाट १४ अंक जोड्यो। लिग चरणको अन्तिम खेलमा शीर्ष स्थानको नेपाल पुलिस क्लबसँग खेल्नुअघि उसले पुलिस जति नै १४ अंक जोडेको हो।

यता लुम्बिनीको भने फाइनल सम्भावना सकिएको छ। अन्तिम खेलअघि लुम्बिनीको ८ अंक छ भने अंक तालिकामा पाँचौँ स्थानमा छ।आइतबार आर्मीले दिएको २४४ रनको लक्ष्य पछ्याएको लुम्बिनी २७.१ ओभरमा ११२ रनमा अलआउट भयो। उसका लागि कप्तान देव खनालले सबैभन्दा बढी ३७ रन जोड्दा अरु ब्याटर सस्तैमा आउट भए।

बलिङमा आर्मीका साहब आलमले ४ विकेट लिए भने नरेन साउदको नाममा २ विकेट रह्यो।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मी ४९.२ ‍ओभरमा २४३ रनमा अलआउट भयो। आर्मीका लागि बसिर अहमदले ८६ रन, भीम सार्कीले ४४ रन र त्रृतराज दासले ३१ रन बनाए। 

बलिङमा लुम्बिनीका अजय चौहानले ४ विकेट लिए।

 

प्रतिक्रिया दिनुहोस