भारत । भारतको नयाँ दिल्लीमा विश्व स्वास्थ्य सङ्गठनले तोकेभन्दा प्रदूषणको स्तर २० गुणा बढेपछि अधिकारीहरूले स्थानीयवासीलाई सकेसम्म केही दिन घरभित्रै रहन र प्रदुषणका स्रोत मानिने गतिविधिलाई कम गर्न सहयोगी भूमिका खेल्न आग्रह गरेका छन् ।
दीपावलीअघि नै शहरमा बाक्लो तुवाँलोले ढाकिएपछि त्यहाँका बासिन्दाहरूमा त्रास फैलिएको छ । दीपावली मनाउँदा पटाका पड्काइने भएकाले वायुको गुणस्तर झनै खस्किने ठानिएको भन्दै विज्ञहरूले पूर्वचेतावनी दिएका छन् ।
प्रदुषण कम गर्न शहरभित्र भइरहेका निमार्णकार्यलाई नियन्त्रण गरिएको छ । सबै विद्यालयहरूमा तीन दिन विदा दिइएको छ ।
भारतको सर्वोच्च अदालतले दुई घण्टा मात्र पटाका पड्काउन आदेश दिएको छ । तर धार्मिक आस्थाका कारण हुने गतिविधिमा त्यस प्रतिबन्ध लागु गर्न निकै कठिन हुने उनीहरूको विश्वास छ । भारतीयहरूले दीपावलीलाई ‘असत्यमाथि सत्यको विजय’ हुने सङ्केतका रूपमा मनाउने गर्छन् ।
विश्व स्वास्थ्य संगठनले १४ भारतीय सहरलाई अतिप्रदूषित सूचीमा राखेको छ । दिल्ली विश्वकै अतिप्रदूषित स्थानमध्ये छैटौँ स्थानमा पर्छ । भारतीय शहरहरूमा पछिल्ला केही बर्ष यता वायु प्रदुषणको मात्रा निकै बढेको बताइने गरेको छ ।
भारतीय राजधानी दिल्लीमा छिमेकी राज्यहरू पन्जाब तथा हरियाणाका किसानहरूले जमिनको उर्बराशक्ति बढ्ने विश्वासका साथ खेत सफा गर्ने क्रममा हरेक वर्ष नोभेम्बर तथा डिसेम्बरमा वायुको गुणस्तर खस्कने गरेको भारतीय अधिकारीहरूको बुझाई छ ।
राजधानी दिल्लीमा बढेको प्रदुषणमा कमी गर्न भारत सरकारले पटक पटक नियन्त्रणका योजना सार्वजनिक गरेपनि सवारी साधनको अत्यधिक चाप र अव्यवस्थित शहरीकरण साथै औद्योगिकिकरणले यस कार्यमा चुनौति दिने गरेको छ ।
प्रदुषण कमी गर्न र प्रदुषणमुक्त समाज निर्माणका लागि सरकार, स्थानीय संघसंस्था, नागरिकहरूले जनचेतना सिर्जना गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् । (रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २० कार्तिक २०७५, १८ : २४
लेखकबाट थप