काठमाडौं। अस्थायी युद्धविरामको झण्डै २ महिनापछि इजरायलले गाजामा पुन: हमला गर्न थालेको छ । गएरातिदेखि नै गाजामा ठूलो सैन्य कारबाही भइरहेको इजरायली सेनाले जनाएको छ ।हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो हमलामा परी कम्तीमा ३३० जनाको मृत्यु भएको छ ।
हमासका अखडाहरूलाई लक्षित गरेर कारबाही भइरहेको इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले जनाएको छ । यस हमलामा हमासका सर्वोच्च सुरक्षा अधिकारी महमूद अबू वफाहको मृत्यु भएको दाबी इजरायलको छ ।
१९ जनवरीमा युद्धविराम शुरू भएयता गाजामा गरिएको यो सबैभन्दा ठूलो हवाई आक्रमण हो। गाजा युद्धविरामलाई अगाडि बढाउने सम्बन्धमा भएका वार्ताहरू कुनै सहमतिमा पुग्न सकेका छैनन् ।जब गाजामा विस्फोट शुरू भयो, त्यतिबेला बेला रमजान महिनाका कारण धेरै मानिस सहरी गरिरहेका थिए ।
उनीहरूका अनुसार २० भन्दा बढी इजरायली लडाकू विमानहरूले एकसाथ उडान भरेका थिए । तिनले गाजा शहर, रफाह र खान युनिसका टार्गेटमा तारन्तार आक्रमण गर्न थाले।इजरायली प्रधानमन्त्री कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिअनुसार प्रधानमन्त्री नेतन्याहू र रक्षामन्त्री काट्जले हमलाको आदेश दिएका थिए।
विज्ञप्तिमा भनिएको छ, 'यो हमला इजरायली बन्धकहरूलाई मुक्त गर्न पटक-पटक अस्वीकार र अमेरिकी राष्ट्रपतिका दूत स्टिभ विट्कोफ तथा मध्यस्थहरूबाट आएका सबै प्रस्ताव अस्वीकारपछि गरिएको हो।'
विज्ञप्तिमा अगाडि भनिएको छ, 'अबदेखि इजरायलले आफ्नो सैन्य शक्ति बढाउँदै हमासविरुद्ध कारबाही गर्नेछ ।'विज्ञप्तिअनुसार, यी हमलाहरूको योजना आईडीएफले गत साता प्रस्तुत गरेको थियो, जसलाई इजरायली राजनीतिक नेताहरूले अनुमोदन गरेका थिए।
संयुक्त राष्ट्रसंघका लागि इजरायली राजदूत डेनी डेन्ननले हमासलाई आफ्ना सबै बन्धकलाई मुक्त गर्न चेतावनी दिएका छन्। उनले भने, 'हामी आफ्ना शत्रुप्रति कुनै दया देखाउने छैनौं।'यता हमासले भने इजरायलले युद्धविराम सम्झौताविरोधी गतिविधि गरेको तथा विश्वासघात गरेको आरोप लगाएको छ।
उसको दाबी छ– 'यसले गाजामा रहेका बाँकी इजरायली बन्धकलाई थप खतरामा पार्नेछ, जसको भविष्य अनिश्चित छ।'तर, हमासले अहिलेसम्म युद्ध पुनः शुरू गर्ने औपचारिक घोषणा गरेको छैन। बरु उसले मध्यस्थहरू र संयुक्त राष्ट्रसंघलाई हस्तक्षेप गर्न आग्रह गरेको छ।
ह्वाइट हाउसका प्रवक्ताले फक्स न्यूजलाई बताएका छन्– हमला गर्नुअघि इजरायलले अमेरिकी राष्ट्रपतिको प्रशासनसँग परामर्श लिएको थियो।मार्च १ मा अस्थायी युद्धविरामको पहिलो चरण समाप्त भएयता मध्यस्थहरू अर्को कदम खोज्ने प्रयास गरिरहेका छन्।
अमेरिकाले सम्झौताको पहिलो चरणलाई अप्रिलको मध्यसम्म लम्ब्याउने सुझाव दिएको थियो, जसमा हमासद्वारा बन्धक बनाइएका मानिसहरूको र इजरायलद्वारा पक्राउ गरिएका प्यालेस्टिनी कैदीहरूको विनिमय समावेश थियो।
तर, वार्तासम्बन्धी जानकारी राख्ने एक प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएका छन्– 'इजरायल र हमासले उक्त सम्झौताका केही महत्त्वपूर्ण पक्षमा असहमति राखिरहेका थिए, जुन स्टिभ विट्कोफले अप्रत्यक्ष वार्ताको क्रममा प्रस्तुत गरेका थिए।'
यो युद्ध ७ अक्टोबर २०२३ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरी १,२०० भन्दा बढी मानिस मार्दा शुरू भएको थियो। २५१ जनालाई बन्धक बनाइएको थियो। त्यस आक्रमणपछि इजरायलले सैन्य कारबाही शुरू गर्यो ।
हमासको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, हालसम्म यस युद्धमा ४८,५२० भन्दा बढी मानिस मारिएका छन्, जसमा धेरैजसो सर्वसाधारण छन्। संयुक्त राष्ट्रसंघ र अन्य संस्थाहरूले पनि यही तथ्यांक प्रयोग गर्छन्।
यस युद्धका कारण गाजाको २१ लाख जनसंख्यामध्ये धेरै विस्थापित हुनुपरेको छ।अनुमानअनुसार ७० प्रतिशत भवनहरू या त ध्वस्त भएका छन् या त गम्भीर रूपमा क्षतिग्रस्त छन्। स्वास्थ्य सेवा, पानी र सरसफाइ प्रणाली नष्ट भएका छन्। साथै, खाना, इन्धन, औषधि र आवासको पनि चरम अभाव छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ चैत्र २०८१, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली सेनाकाे आक्रमणबाट गाजा पट्टीमा ३४ प्यालेस्टिनी मारिए
सात सय २६ केजी गाँजा बरामद
धरानबाट चार क्विन्टलभन्दा बढी गाँजा बरामद
गाजामा इजरायली सेनाको आक्रमण तीव्र
गाजामा युद्धविराम गर्न इजरायल र हमास सहमत
गाजामा युद्धविराम सम्झौताको मस्यौदालाई हमासले दियो मञ्जुरी